सूचना / प्रबिधि

अनुमती बिना समाचार हुबहु सार्ने १८३ सञ्चार माध्यम काउन्सिलको कारबाहीमा

नवलपुर टुडे
२०८० फाल्गुन १६ | मध्यान्ह ०६:११ बजे

काठमाडौं, फागुन १६ । प्रेस काउन्सिल नेपालले अनुमती बिना समाचार हुबहु चोरी गर्ने १ सय ८३ अनलाइन सञ्चार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको छ ।

बुधबार काउन्सिलका सह प्रशासकीय अधिकृत रामशरण बोहराले एक विज्ञप्ति जारी गर्दै गत आ.व यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एण्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जानकारी दिएको हो । कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ ।

स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको र मिडियाका रुपमा दर्ता/सूचीकरण नभएका २९ वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको सह प्रशासकीय अधिकृत बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बुधबार बसेको प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकले समाचार हुबहु प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रकृया अघि बढाउने निर्णय गरेको छ । आगामी दिनमा बिना अनुमति हुबहु प्रकाशन नगर्न/नगराउन ध्यानाकर्षण गराउने र पुनः त्यस्तो प्रवृत्ति पुनरावृत्ति भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिताबमोजिम थप कारबाही गरिने जनाएको छ ।

press bigyapti 2080 11 16

कमेन्टहरु