आदनचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, फागुन १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको आदनचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आदनचुली गाउँपालिका–३ स्थित ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ आयोजनामा ४२ लाख २९ हजार ३५८ अनियमितता गरेको भन्दै अख्तियारले बुधबार विशेष जिल्ला काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर मकरध्वज शाही, सवइन्जिनियर जयराम छत्याल, योजना शाखामा रहेका सरफाई टेक्निसिन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपाली, वडा नम्बर ३ का वडाअध्यक्ष दत्त विष्ट, गाउँपालिका उपप्रमुख सौमती रावल ऐडी, अनुगमन समिति सदस्य मानबहादुर टमटा र धनसरा टमाटा, उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाया र कोषाध्यक्ष सिर्जना बुमीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
सो सिँचाइ आयोजनामा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा उनीहरुले भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको ठहर छ । उनीहरुले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गराई, झुट्टा नापी किताब, उपभोक्ता समिति सम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरेको अख्तियारले जनाएको छ । साथै गरी सोही बिल भरपाई र कागजातको आधारमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी ४२ लाख २९ हजार ३५८ उपभोक्ता समिति लाई भुक्तानी गरी सरकारी रकम हिनामिना गरेको पुष्टि भएको प्रवक्ता घिमिरेले बताए ।























