रोल्पामा आगलागीका कारण एक वृद्धाको मृत्यु

नवलपुर टुडे
२०८० फाल्गुन १६ | बिहान ०८:११ बजे

रोल्पा । रोल्पाको माडी गाउँपालिका–५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको छ । आगलागीमा परेर ७५ बर्सिया हरिकला घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भावाङ कचरिकोटस्थित वृद्धाको घरमा मंगलबार अपराह्न ४ः४५ बजे अचानक आगलागी भएको थियो । घरमा पशु चौपाया नभएको र आगलागी भएपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । तर वृद्धाको शरीर जलेका कारण उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए ।
प्रहरीका अनुसार घरमा हरिकलासँगै उनका माइला छोरा मात्रै बस्दै आएका थिए । तर आगलागीका बेला छोरा घरमा थिएनन् । आगलागीको कारण भने खुलेको छैन ।























