लुम्बिनी प्रदेश

मन्त्री ज्वालाको ठेक्का तोड्ने चेतावनीपछि सिद्धबाबा सुरुङ मार्गको काम तीव्र

असिम कामु
२०८० फाल्गुन १५ | मध्यान्ह ०७:११ बजे

बुटवल, फागुन १५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ठेक्का तोड्ने चेतावनी दिएपछि सिद्धबाबा सुरुङ मार्गको कामले तिव्रता पाएको छ । ३० मंसिरमा सुरुङ मार्गको स्थलगत भ्रमण गर्ने क्रममा मन्त्री ज्वालाले तत्काल कामलाई तिव्रता नदिए दुई महिनाभित्र ठेक्का तोड्ने चेतावनी दिनुभएको थियो ।

पाँच बर्षपभित्र काम सक्नेगरी २०७८ जेठ ९ गते टेण्डर आह्वान भए पनि निर्माण कम्पनी चाइना स्टेटले काम अगाडी बढाएको थिएन । तर मन्त्री ज्वालाले ठेक्का तोड्ने चेतावनी दिएको दुई महिनाभित्र २२ मिटर टनेल खन्ने काम सकिएको आयोजना प्रमुख रामबहादुर जयसवालले बताउनु भयो । ‘निर्माण कम्पनीले विभिन्न बहानामा काममा ढिलाइ गरिरहेको थियो, मन्त्रीज्यूले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कार्य तिव्ररुपमा थालिएको छ’ जयसवालले भने।

११२६ मिटर लामो टनेल र सडक निर्माणको जिम्मा चाइना स्टेटले २०७८ फागुन २५ गते लिएको थियो । तीन बर्ष अगाडी सम्झौता भएपनि गत मंसिर महिनासम्म जम्मा ३ प्रतिशत मात्र काम भएको थियो । तर पछिल्ला दुई महिनामा भौतिक प्रगति ११ प्रतिशत पुगेको छ । २२ मार्च २०२७ मा काम सम्पन्न गरिसक्नु पर्ने थियो । तर विगत तीन बर्षसम्म काम नहुँदा आयोजनाको लागत समय बढ्ने देखिएको छ ।

७ अर्ब ३४ करोडमा पाँच बर्षभित्र काम सक्नेगरी चाइना स्टेटले सिद्धबाबा सुरुङ मार्गको कामको जिम्मा लिएको थियो । रकमको अभाव देखाउँदै तीन बर्षसम्म काम नगरेपछि मन्त्री ज्वालाले निर्माण स्थलमै पुगेर ठेक्का तोड्ने चेतावनी दिएका थिए।

कमेन्टहरु