बिरामी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार


सिमकोट । बिहीबार तीन बजे एक्कासी बेहोस भएर बिरामी भएकी गर्भवती महिलाको शुक्रबार हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको छ।
बिरामी भएर उद्धार गरिएकी गर्भवती महिलामा ताँजाकोट गाउँपालिका–५ की वर्ष १७ की बाँचु बैजी रहेकी छन् । प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले बिरामी भएकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको बताए।
उनले बैजीको बिराम बारे जानकारी पाउने बित्तिक्कै आवश्यक प्रकृयातर्फ लागेको र त्यसपछि हेलिकोप्टरको ब्यवस्था हुँदा उनले ताँजाकोट गाउँपालिकाबाट सुर्खेतका लागि उद्धार गरिएको बताए।
ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले एक्कासी टाउको दुख्ने, रिगटा आउने र पुरै शरिर काम छुटेर बेहोस अवस्थामा बिहीबार बेलुका सात बजे मैला स्वास्थ्य चौकीमा ल्याई पुर्याएकी गर्भवती बैजीको शुक्रबार हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको बताए।
उनले स्वास्थ्य चौकीमा चेकजाँच गर्दा बिरामी बैजीको प्रेशर उच्च रहेको, बेलाबेला फिट एण्ड कन्भल्सन आएर ईक्लाम्सिया भएर बेहोस हुने गरेको बताए। उनको गर्भमा ३६ हप्ताको शिशु रहेको छ। बिहानसम्म होस नआएपछि आमा र शिशुको अवस्था जोखिममा देखिएको कारण स्वास्थ्य चौकीले सुबिधा सम्पन्न अस्पतालमा रिफर गरिएको हो।
उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो। यसका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमले सहयोग गर्नेछ । स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको सहजिकरणमा बैजीको उद्धार कार्य भएको हो।























