गण्डकी प्रदेश

कार्यसम्पादन मूल्यांकनमा बुलिङ्टार गाउँपालिका सबैभन्दा कम अंक प्राप्त

नवलपुर टुडे
२०८० फाल्गुन १० | मध्यान्ह ०६:११ बजे

कावासोती, फागुन १० । कार्यसम्पादन मूल्यांकनमा पुर्वी नवलपरासीका बुलिङटार गाउँपालिकाले कम अंक पाउने पालिका घोषित भएको छ, भने गैंडाकोट नगरपालिका जिल्लामा उत्कृष्ट नगरपालिका घोषित भएको छ । जिल्लाभरिका ८ स्थानीय तह मध्ये बुलिङटार कम अंक पाउने स्थानीय तह र गैडाकोट नगरपालिका सबै भन्दा बढी अंक पाउने नगरपालिका घोषित भएको हो ।

आगामी आव २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा प्रदेशको मूल्यांकनमा गरेको छ । आयोगले पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेको लगायतका सूचकमा मूल्यांकन गर्ने गर्दछ ।

त्यस्तै असार १० भित्र बजेट ल्याए/नल्याएको, असार ३० भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिकरुपमा दिए/नदिएकोलगायत आधारमा मूल्यांकन गरिन्छ ।

आयोग संवैधानिक निकाय हो । संघीयता संघ, प्रदेश र स्थानीय तहहरुको राजस्व बाँडफाँड, अन्तरतह वित्तीय हस्तान्तरण, आन्तरिक ऋण सीमा तथा समग्रमा आर्थिक स्थायित्वको काम आयोगले गर्दै आएको छ । स्थानीय तहलाई एकमुष्टरुपमा समानीकरण अनुदान दिन आधारहरु तयार गरेर मूल्यांकन गर्ने गर्छ । आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्यांकन गरी नतिजा प्रकाशित गर्छ । आयोगले दिएको जानकारीअनुसार पुर्वी नवलपरासीक्प बुलिङटार गाउँपालिकाले १० दशमलव ७७ प्रतिशत अंक मात्र पाएको छ ।

पुर्वी नवलपरासीको आठ स्थानीय तहमध्ये सबै भन्दा बढी ४८ दशमलव २३ प्रतिशत अंक प्राप्त गरी गैडाकोट नगरपालिका जिल्ला उत्कृष्ट स्थानीय तह घोषित भएको छ ।

गैंडाकोट नगरपलिकाले ४८ दशमलव २ प्रतिशत, देवचुली नगरपालिकाले ४८ दशमलव १८ प्रतिशत, मध्यबिन्दु नगरपालिकाले ४३ दशमलव ११ प्रतिशत, कावासोती नगरपालिकाले ४० दशमलव २६ प्रतिशत, बौदिकाली गाउँपालिकाले ४० दशमलव ८९ प्रतिशत, हुप्सेकोट गाउँपालिकाले ३४ दशमलव ९६ प्रतिशत, विनय त्रिवेणी गाउँपालिकाले २८ दशमलव ५८ प्रतिशत र बुलिङटार गाउँपालिकाले १० दशमलव ७७ प्रतिशत अंक प्राप्त गरेका छन ।

आयोगका अनुसार पुर्वी नवलपरासीको ८ स्थानीय तह मध्ये ४ वटा नगरपालिका मध्ये गैंडाकोट नगरपालिका उत्कृष्ट भएको छ भने चार वटा गाउँपालिका रहेको यस जिल्लामा बौदिकाली गाउँपालिका उत्कृष्ट गाउँपालिका घोषित भएका छन ।

कमेन्टहरु