बारामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु, तीन घाइते

जगत ठाडा मगर
२०८० फाल्गुन ९ | बिहान ११:११ बजे

बारा, फागुन ९ । बारामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित आदाभारमा बोलेरो र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामकुमार महतोले हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बोलेरो र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक एकापसमा ठोक्किएको जानकारी दिए ।
दुर्घटनामा मृत्यु भएका तथा घाइतेको पहिचान खुल्न सकेको छैन । घाइतेहरूको पर्वानिपुरस्थित एल एस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।























