सन्दीप लामिछानेको पुन: शल्यक्रिया


काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले पुन: शल्यक्रिया गराएका छन्। उनले लाइपोमाको अप्रेसन दोस्रो पटक गराएका हुन्। लामिछाने बलात्कार आरोपमा जिल्ला अदालत, काठमाडौंबाट दोषी ठहर भएसँगै मानसिक परामर्शमा रहेका छन्।
यद्यपि लाइपोमाको गत वैशाखमा पनि उनले शल्यक्रिया गरेका थिए। तर उक्त समयमा खेल भएकाले पूर्ण रूपमा उनको लाइपोमाको शल्यक्रिया भएको थिएन। जसका कारण साना छोडिएका गिर्खाहरू पुन: बढ्न थालेपछि मंगलबार दोस्रो पटक सल्यक्रिया गरिएको उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए।
पछिल्लो समय सन्दीप जिल्ला अदालतको आदेश विरुद्ध पुनरावेदनको तयारीमा रहेका छन्। उनी अब केही दिनमै पाटन उच्च अदालतमा पुनरावेदनका लागि जाने तयारीमा रहेका छन्। अप्रेसन सफल भएको र डिस्चार्ज भएपछि उनी पुनरावेदनका लागि अदालत जान सक्ने छन्।
के हो लाइपोमा ?
लाइपोमा शरीरको छालाभित्र र मासुभन्दा माथिको भागमा आउने गोलाकार वा अण्डाकार आकारको तन्तु हो। बोसोले बनेको यो तन्तु शरीरका विभिन्न ठाउँमा त कहिले एकै भागमा मात्र पनि आउने सम्भावना हुन्छ। लाइपोमा खासगरी निधार घाँटी, ढाड, हात, पेट लगायत शरीरका विभिन्न भागमा देखिन्छ।
प्रत्येक हजार जनामध्ये एक जनामा कुनै न कुनै समयमा लाइपोमा देखिन सक्छ। यद्यपि यो समस्या त्यति खतरनाक मानिँदैन। यद्यपि नदुख्ने गाँठो हुने भएकाले यो बढेमा क्यान्सरको जोखिम मानिने गरिन्छ। त्यसैले यसलाई अप्रेसन गरेर फाल्ने गरिन्छ।
























