खेलकुद, गण्डकी प्रदेश

जिएम कपको उपाधि नेपाल प्रहरी क्लबले उचाल्यो

नवलपुर टुडे
२०८० फाल्गुन ८ | मध्यान्ह ०८:११ बजे

कावासोती, फागुन ८ । पूर्वी नवलपरासीको कावासोतीमा जिएम समाज कावासोती नवलपुरले आयोजना गरेको जिएम कप भलिबल प्रतियोगिताको उपाधि नेपाल प्रहरी क्लबले उचालेको छ । मंगलबार भएको फाइनल खेलमा नेपाल प्रहरीले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै पहिलो जिएम भलिबल कपको उपाधि जितेको हो।

वेस्ट अफ फाइभमा खेलाइएको खेलमा नेपाल प्रहरीले सशस्त्रलाई २६–२४, २१–२५, २५–२१, २१–२५ र १५–१२ को सेटमा हराएको हो। उपाधिसँगै नेपाल प्रहरीले २ लाख पुरस्कार राशि जितेको छ भने सशस्त्र प्रहरीले दोस्रो स्थानमा चित्त बुझाउँदै १ लाख रुपैयाँ पुरस्कार राशि जितेको छ।

मंगलबार नै भएको अर्को खेलमा नेपाली सेनालाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी प्रदेश भलिबल टिमले तेस्रो स्थान हालिस गरेको छ । गण्डकी प्रदेशले नेपाल आर्मीलाई १७–२५, २५–१७, १५–२५, २५–१८ र १५–११ को सेटमा पराजित गरेको हो। प्रतियोगितामा तेस्रो हुनेले ५० हजार र चौथो हुनेले २५ हजार पुरस्कार जितेको छ।

प्रतियोगिताको पुरस्कारको सम्पूर्ण रकम अर्थात् ३ लाख ७५ हजार नवलपुरको गैँडाकोट घर भई हाल अमेरिका बस्दै आएका वीरेन्द्र मगर लाहुरेले सहयोग गरेको आयोजक जिएम समाज कावासोतीले नवलपुर टुडेलाई जनाएको छ ।

पहिलो चरणका खेल लिग चरणमा खेलाइएको प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३ विभागीय टिमसहित गण्डकी प्रदेश भलिबल, पश्चिम नवलपरासी र आयोजक जिएम समाज गरी ६ वटा टिमको सहभागिता थियो।

कमेन्टहरु