मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए तेस्रो पटक विश्वासको मत


जनकपुरघाम । मधेस प्रदेश सभाबाट मुख्यमन्त्री सरोजकुमार यादवको सरकारले विश्वासको मत प्राप्त गरेको छ । मुख्यमन्त्री यादवले सदनमा पेश गरेको विश्वासको मतको प्रस्तावमा प्रदेश सभाबाट यादवलाई ६९ जना प्रदेश सांसदले विश्वासको मत दिएका हुन् । विपक्षमा भने ३५ जना प्रदेश सांसदले मतदान गरेको सभामुखले जनाए । आजको प्रदेश सभामा १०४ जना प्रदेश सांसदहरूको उपस्थिति रहेको सभामुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री यादवको पक्षमा बहुमत प्राप्त भएकोले उनको नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त गरेको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।प्रदेशसभामा तेस्रो पटक लिन लागिएको विश्वासको मतमा सत्ता गठबन्धनमा आबद्ध दलसहित तीन साना दल र स्वतन्त्र प्रदेश सांसदहरूले समर्थन जनाउँदै विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई साना दलहरू नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टीसहित स्वतन्त्र प्रदेश सांसदहरूले समेत विश्वासको मत दिएका हुन् । योसँगै सत्ता गठबन्धनमा आबद्ध दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा र जसपाका प्रदेश सांसदहरूले पनि विश्वासको मत दिएका हुन् ।
प्रदेश सरकारलाई कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्रका ९, लोसपा ९, एकीकृत समाजवादीका ७ र साना दलहरूबाट ३ जना सांसदले अहिलेको सरकारको पक्षमा मतदान गरेका हुन् । योसँगै स्वतन्त्र सांसदहरूले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका थिए ।























