रौतहटमा मूर्ति सेलाउने विषयमा झडप भएपछि हिजोदेखि लगाइएको कर्फ्यू आज पनि जारी


रौतहट । रौतहटमा सरस्वती माताको मूर्ति सेलाउने विषयमा झडप भएपछि शनिबार साँझदेखि लगाइएको कर्फ्यु आइतबार पनि जारी रहेको छ।
जिल्लाको इशनाथ नगरपालिका-६ र ७ मा मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवादले झडप सिर्जना भएपछि शनिबार जिल्ला प्रशासन कार्यालय, रौतहटले शनिबार बेलुका ०५:०० बजेदेखि अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरेको थियो।
रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ईशनाथ नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप एपिएफ बिओपी र दक्षिणमा जयनगर प्रहरी चौकीसम्म अर्को आदेश नभएसम्मको लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका थिए।
उक्त आदेशअनुसार आइतबार पनि अर्को आदेश नआएसम्मको लागि कर्फ्यू जारी नै रहेको जिल्ला प्रशासन कार्यालय, रौतहटका प्रशासकीय अधिकृत मनिभुषन साहले जानकारी दिए।
बितेको फाल्गुन ०३ गते बिहीवार ईशनाथ नगरपालिकाको वडा नं. ०६ र ०७ मा सरस्वती मूर्ति बिसर्जनको क्रममा मोतिपुरमा दुई पक्ष बीच झडप भएको थियो।सो
उक्त विषयलाई लिएर शनिबार नगरपालिकाको घिउरामा पुनः विवाद र झडपको स्थिति उत्पन्न भएकोले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम शान्ति भंग हुन जाने स्थिति देखिएकोले प्रशासनले कर्फ्यु जारी गरेको थियो।
कर्फ्यु लगाइएको सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ र्याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने आदेश दिइएको छ।























