भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन


भैरहवा । देशभरिका महिला उद्यमी सम्मिलित दुई दिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ भैरहवामा सुरु भएको छ । ‘महिलाको लगानी, घर–घरमा उद्यमी’ भन्ने नारासहित नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिको अगुवाइमा भैरहवामा सम्मेलन सुरु भएको हो । उद्यम व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थासँगै प्रक्रियागत सहजता, तालिम, पुँजी, प्रविधि, दक्ष जनशक्ति र बजारीकरणसम्मका विद्यमान चुनौतीहरूबारे सम्मेलनमा उपस्थित महिला उद्यमीहरूले ध्यानाकर्षण गराएका छन् । साथै, थोरै पुँजी लगानीबाटै स्थानीय स्रोत (साधनको परिचालन गरी व्यवसाय सञ्चालन गर्न सकिने भएकोले महिला उद्यमी एवम् लघु, घरेलु तथा साना उद्योगबाट ठुलो आर्थिक उन्नतिको सम्भावना रहेको पनि उनीहरूले औँल्याएका छन् ।
सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महिला उद्यमलाई लागत, खर्च र आयसँग जोड्ने बेला भएको धारणा राखे । उनले गाउँका उद्यमलाई सहरसँग जोड्नुपर्ने पनि बताए । महिलाहरूले कम्तीमा ३० हजारभन्दा माथि कसरी कमाउन सक्छन् भन्ने विषयमा लुम्बिनी प्रदेशले उद्यमशीलता कार्यक्रमका तयारी गरेको जानकारी दिए ।
‘अहिले युवाहरू बिदेसिने समस्या छ, यस्तो अवस्थामा महिला उद्यमीहरू अग्रसर भई यस्तो सम्मेलन आयोजना गर्नुलाई हामीले ठुलो अवसरका रूपमा लिएका छौँ,’ मुख्यमन्त्री चौधरीले भने, ‘महिला उद्यमशीला प्रवर्द्धनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन लुम्बिनी प्रदेश तयार छ ।’ सम्मेलनमा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले साना उद्योगीको प्रवर्द्धन, महिला उद्यमीको सशक्तीकरण र आर्थिक समृद्धिको प्रवर्द्धनसँगै दिगो व्यवसायका लागि सरकारले वातावरण तयार गर्नुपर्ने बताए । महिला उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराउन आवश्यक रहेको र त्यसका लागि परियोजना धितोमा कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा जस्ता सुविधा सहज र प्रभावकारी बनाइनुपर्ने विषयमा महासङ्घले सरोकारवालालाई पटक–पटक ध्यानाकर्षण गराएको श्रेष्ठको भनाई थियो ।
महासङ्घका उपाध्यक्ष हेमराज ढकालले महिला उद्यमशीलता विकासका लागि सरकार निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए । महासघले महिला उद्यमशीलता विकासका लागि काम गरिरहेको जानकारी ढकालले गराए । महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकभर नै उद्यमी महिलाहरूका समस्या सुन्ने र उद्यमशीलता विकासका लागि सहयोग पुग्ने गरी महिला उद्यमी सम्मेलन भैरहवामा आयोजना गरिएको बताए । यसबाट सङ्घीय राजधानी बाहिर पनि उद्यमशीलता विकासमा सहयोग पुग्ने उनको भनाई छ । सम्मेलनमा देशभरबाट ३ सय ५० महिला उद्यमी व्यवसायी तथा व्यवसाय सञ्चालनका लागि इच्छुक महिलाहरू भैरहवास्थित उद्योग वाणिज्य महासङ्घमा भेला हुने भएका छन् ।
सम्मेलनमा महिला उद्यमशीलतासँग सम्बन्धित कानुनी व्यवस्था र त्यसको कार्यान्वयन पक्षबारे ‘महिला उद्यमशीलता नीति र नजिता’ विषयमा छलफल गरिएको थियो । दोस्रो सत्रमा महिलाको वित्तीय पहुँचबारे मन्थन हुँदै गर्दा तेस्रो सत्रमा भने बजार पहुँचबारे विमर्श गरिएको थियो ।























