झापामा श्रीमान् अर्कै महिलासँग लागेको भन्दै आमाछोरीद्वारा आत्मदाहको प्रयास


झापा । श्रीमान् अर्कै महिलासँग लागेको भन्दै झापाको बुद्धशान्तिमा एक महिलाले पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास गरेकी छन्।
गएराति ८.३० बजेको समयमा बुद्धशान्ति २ गोपालडाँडा घलेगाउँ बस्ने राजन विककी श्रीमती २८ वर्षीया माया रम्तेलले छोरी ५ वर्षीया वर्षा बिकलाई आफ्नै शरीरमा सलले बाँधेर शरीरभरि पेट्रोल खन्याई आफैंले आगो लगाएकी हुन्।
उनीहरू जल्दै गरेको देखेर स्थानीयबासीले उनीहरूको शरीरमा लागेको आगो निभाएका थिए।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार उनीहरूको उपचार बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भइरहेको छ।
माया रम्तेलको शरीरको सम्पूर्ण भाग जलेकोले अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
बोल्न नसक्ने छोरी वर्षा विकको शरीरको विभिन्न भाग जलेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनास्थलनजिकै सुसाइड नोटसमेत फेला परेको प्रहरीले जनाएको छ। उक्त नोटमा श्रीमान् अन्य महिलासँग सम्वन्धमा रहेको कारण बाध्य भएर यस्तो निर्णय लिन पुगेको लेखिएको छ।
श्रीमान् राजनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।























