नवलपरासीबाट ७० ग्राम लागुऔषध चरेस र साढे ८२ हजार नगदसहित एक जना पक्राउ


नवलपरासी, फागुन २ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १४ चौपत्ताबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौपत्ताका झपट बहादुर कामीको छोरा वर्ष ३२ का राजु बिक छन् ।
लागुऔषध बेचबिखन गर्दै आएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले स्थानीय जनप्रतिनीधिको रोहबरमा बिकको घर खानतलासी गर्दा उनको कोठामा रहेको काठको दराजमा कालो रङ्गको पोलिथिनमा प्याक गरी राखेको अवस्थामा कालो रङ्गको चरेश जस्तो देखिने पदार्थ ७० ग्राम र निलो ब्यागमा रु.१००० दरको नोट ७२ थान, रु.५०० को नोट १९ थान र रु.१०० दरको नोट १० थान गरी जम्मा नेपाली रु.८२,५०० फेला पारेको हो ।
उक्त लागुऔषध र नगदसहित बिकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बर्दघाट मार्फत सम्मानित अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।























