अपराध, लुम्बिनी प्रदेश

नवलपरासीबाट अवैध हतियारसहित दुई जना पक्राउ

नवलपुर टुडे
२०८० फाल्गुन २ | मध्यान्ह ०८:११ बजे

नवलपरासी, फागुन २ । पश्चिम नवलपरासीबाट प्रहरीले अवैध हतियार (पेस्तोल) सहित दुई जनालाई पक्राउ गरेको छ ।

बर्दघाट नगरपालिका वडा नं. १२ जहदामा अवैध हतियार (पेस्तोल) सहित मानिसहरु हिडिरहेको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट भटौलियाबाट खटिएको प्रहरी टोलीले भटौलिया मझौनी सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ शंकास्पद रुपमा पैदल हिडिरहेका दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका वडा नं. १३ बस्ने अजय अहिर र कमल चौधरी रहेका छन् । उनीहरुलाई चेकजाँच गर्ने क्रममा अजयले लगाएको निलो जिन्स पाईन्टको अगाडिको बायाँ गोजीमा लुकाई छिपाई राखेको अवस्थामा कालो रङ्गको हतियार (पेस्तोल) फेला परेको नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

अजयसँगै कमललाई पनि नियन्त्रणमा लिई बुधबार सम्मानित अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको बोहराले बताए ।

कमेन्टहरु