पोखराबाट स्रोत नखुलेको साढे ७ किलो सुन, ६ किलो चाँदी र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ

नवलपुर टुडे
२०८० फाल्गुन १ | मध्यान्ह ०१:११ बजे

कास्की, फागुन १ । पोखराबाट साढे सात किलो सुन र ६ किलो चाँदीसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पश्चिम बंगालको मेदिनिपुर दासपुर- ११ घर भई पोखरा महानगरपालिका-२ मोहोरिया टोलस्थित जयभैरव ज्वेलर्स सञ्चालन गर्दै आएका ४० वर्षीय सुरजित भौमिक रहेका छन् ।
उनको साथबाट स्रोत नखुलेका सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम, चाँदीका गहना ६ किलो र नगद ६२ लाख ८१ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भौमिकलाई ज्वेलर्सबाट स्रोत खुलाउन नसकेको उक्त गहना र नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।























