झापामा भुईमा पछारेर आठ महिने शिशुको हत्या, आमासहित एक पुरुष पक्राउ

नवलपुर टुडे
२०८० फाल्गुन १ | मध्यान्ह ०१:११ बजे

झापा, फागुन १ । झापामा आठ महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
दमक नगरपालिका–३, बेलडाँगी भुटानी शिविर सेक्टर बी ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चवीर घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा एरित ओलीलाई घिसिङले भुईमा पछारेर हत्या गरेको प्रहरीले जनाएको छ । भुईमा पछारेपछि बेहोस भएका ती बालकलाई उपचारको लागि दमक अस्पताल पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि किओच बाल अस्पताल दमकमा लगिएकोमा उपचारको क्रममा एरितको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शिशुको आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।























