अपराध, घटना, लुम्बिनी प्रदेश

नवलपरासीको मर्चहवामा हजुरबुबा र नाति मृत अवस्थामा फेला

नवलपुर टुडे
२०८० फाल्गुन १ | बिहान ०९:११ बजे

नवलपरासी, फागुन १ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका – ३ मर्चहवामा हजुरबुबा र नाति मृत अवस्थामा फेला परेका छन् ।

मंगलबार बिहान ५:५५ बजेको समयमा मर्चहवाका ६५ वर्षीय यक्षलाल चमार र उनका नाती ११ वर्षीय गौचरण चमार घरदेखि करिब ५०० मिटर दक्षिण तर्फ ठोक्करमा मृत अवस्थामा फेला परेको हो ।

उनीहरु त्यहाँ बिगत ४/५ बर्ष अगाडी देखिनै सिमेन्टको कच्ची खपट्टोले छाएको छाप्रोमा बस्दै खेतिपाती गर्दै आईरहेका थिए । उनीहरुलाई स्थानीयले करिब १५ मिटर दुरीको फरकमा छाप्रो बाहिर उत्तानो अवस्थामा मृत भेटिएका थिए ।

स्थानीयले प्रहरीलाई जानकारी गराएपछि जि.प्र.का. बाट प्रहरी उपरीक्षक काजीकुमार आचार्यको कमाण्डमा खटिएको टोलीले घटनास्थलमा तालिमप्राप्त कुकुर झिकाइ थप अनुसन्धान गरिरहेको सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

मृतक यक्षलालको घरमा १ छोरा, २ नाती, १ नातिनी र १ बुहारी रहेकोमा एक डेढ महिनादेखि रोजगारको सिलसिलामा छोरा भारतमा गएका थिए । बुहारी भने श्रीमान भारत गएपश्चात १ नाती र १ नातिनिलाई साथमा लिई माईती घर भारततर्फ गएको भन्ने बुझिएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

कमेन्टहरु