लुम्बिनी प्रदेश

विद्युत कटौती हुन थालेपछि रुपन्देहीका उद्योगीले गुहारे प्राधिकरण

नवलपुर टुडे
२०८० माघ २९ | मध्यान्ह ०४:१० बजे
विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाउँदै उद्योगी ।

बुटवल, माघ २९ । रुपन्देहीका उद्योगीहरूले अघोषित विद्युत कटौती (लोडसेडिङ) ले उद्योगमा उत्पादनको काम ठप्प भएको भन्दै विद्युत प्राधिकरणसँग समस्या समाधानको माग गरेका छन् । 

केही समय यता विद्युतको समस्या झेल्दैआएका रुपन्देहीका उद्योगीले २४ घण्टा नै केही दिनदेखि अघोषित रूपमा लोडसेडिङको मारमा परेको बताएका छन् । रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटाले ३३ केभिए तथा ११ केभिए औद्योगिक कोरिडोरका उद्योगमा विगत केही दिनदेखि २४ घण्टा अघोषित विद्युत कटौती भइरहेको बताउनुभयो ।

उहाँले उद्योगमा भएको अघोषित लोडसेडिङले कच्चा पदार्थ बिग्रेको, बजारमा मालवस्तुको अभाव सिर्जना भइसकेको तथा मूल्यवृद्धि हुने डर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्तो आर्थिक संंकटमा उद्योग चलाउनु परेको छ, अघोषित विद्युत कटौतीले झनै सङ्कटमा पारेको छ । विविध प्रकारका नोक्सानी व्यहोर्नुपरेको कारण निर्बाध रूपमा उद्योग सञ्चालन हुन नसकी उद्योगहरू बन्द हुने स्थितिमा पुगेका छन् ।’

उद्योग सङ्घले उद्योगमा पटक–पटक विद्युत कटौती भएकाले उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत प्राधिकरणको प्रदेश कार्यालयमार्फत प्रणाली सञ्चालन विभाग, विद्युत कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत ध्यानाकर्षण गराएको छ ।

उद्योगमा केही समय यता दैनिक १२ घण्टासम्म अघोषित रूपमा लोडसेडिङ रहेको उद्योगीको भनाइ छ । उद्योग सङ्घका निवर्तमान अध्यक्ष माधव पौडेलले उद्योग सञ्चालनमा समस्या आएको बताउनुभयो । उहाँले उद्योग सञ्चालन हुन नसक्दा आपूर्तिमा असहज हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘उद्योग सञ्चालन हुन नसके मूल्यवृद्धि हुन सक्छ, सामान आयात गर्नुपर्ने अवस्था आउँछ, जसले गर्दा व्यापार घाटा पनि बढ्छ ।’ पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले प्राधिकरणले विद्युत दिन नसक्ने भए पूरै उद्योग बन्द गर्न तयार रहेको तर यसरी सूचनाबिना कटौती गरेर थला परेका उद्योगीलाई थप हतोत्साहित नबनाउन आग्रह गर्नुभयो । 

सङ्घका महासचिव तथा बुटवल औद्योगिक क्षेत्रका उद्योगी हिरामणि भट्टराईले अनियमित विद्युत कटौती गर्ने समस्या आए तत्काल सूचना दिन माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशको समस्या हामी उद्योगी व्यवसायीले पनि बुझेका छौँ । समस्या भए लोडसेडिङको तालिका दिनुपर्‍यो ।’ 

उहाँले लोडसेडिङ गर्ने भए तालिका बनाएर उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना हुनुपर्ने माग गर्नुभयो । उद्योग सञ्चालन गर्न नपाइने भए लिखित रूपमा जानकारी गराउनु पर्ने उद्योगीको माग छ ।

रुपन्देहीको लुम्बिनी कोरिडोरमा मात्र दुई दर्जन बढी र भैरहवा–बुटवल क्षेत्रमा दर्जन बढी उद्योग अहिले बन्द सरहको अवस्थामा पुगेको उद्योगी बताउँछन् । उद्योगी तथा रुपन्देही उद्योग संंघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योगीले माग गरेअनुसार तत्काल समय तालिकाअनुसार विद्युत कटौती गर्न र उद्योगीको माग पूरा गर्न आग्रह गर्नुभयो ।  

नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख ई. हरिप्रसाद पाण्डेले विद्युत आपूर्तिमा समस्या भएको कारण उद्योगतर्फ समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आएको विद्युत हामीले वितरण गर्ने हो, उद्योगहरूको मागअनुसारको आपूर्ति नभएकाले विद्युत अनियमित हुने गरेको हो । यो अघोषित कटौती हो लोडसेडिङ होइन ।’ 

उहाँले प्रदेशमा अहिले के कति समस्या भएको हो, भनेर केही दिनमा तथ्याङ्क निकालेर उद्योगीसँग समन्वय गरेर तालिका निकाल्ने बताउनुभयो । उहाँले अहिले पानी नपरेर उत्पादन कम भएको, र भारतबाट चाहे जति किन्न नसकिएकाले समस्या भएको बताउनुभयो ।

कमेन्टहरु