गण्डकी प्रदेश क्याबिनेट बैठक बागलुङको पञ्चकोटमा, गरे ८ वटा निर्णय


पोखरा । गण्डकी प्रदेश सरकारको क्याबिनेट बैठक पहिलो पटक बागलुङको पञ्चकोटमा बसेको छ । बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । आगामी अधिवेशनका लागि थप २ वटा विधेयक तयार गरेको छ । प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्ने विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भारसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
यस्तै, घातक रोगबाट उपचार गराइरहेकालाई आर्थिक सहायता उपलब्ध गराउने, प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिएको छ । मनाङको नासो गाउँपालिकाको वडा सीमाना संशोधनका लागि नेपाल सरकारलाई सिफारिस गरिएको छ । समपूरक तथा विशेष अनुदान अन्तर्गत आयोजना–कार्यक्रम समावेश गर्न नेपाल सरकारमार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने निर्णय पनि भएको प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन्।
बैठकले गण्डकी प्रदेश आन्तरिक लेखापरीक्षण निर्देशिका, २०८० स्वीकृत गरेको छ भने गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको अर्यालले बताइन् ।























