अपराध, गण्डकी प्रदेश

आफुले लिएको वास्तविक ऋण नतिरी उल्टै अपहरणको अफवाह फैलाउने अधिकारी पक्राउ

नवलपुर टुडे
२०८० माघ २४ | मध्यान्ह ०८:१० बजे

नवलपुर, माघ २४ । नवलपुरमा आफुले लिएको वास्तविक ऋण नतिरी उल्टै अपहरणको अफवाह फैलाउने एक व्यक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा कावासोती नगरपालिका वडा नं. १७ का ४६ वर्षीय केशव प्रसाद अधिकारी रहेका छन् । उनले कास्कीको पोखरा महानगरपालिका वडा नं. १४ चाउथेका ३५ वर्षीया मल्लिका दाहालबाट गत जेठ १० गते ३७ लाख रुपैया सापटी लिएका थिए ।

उक्त रकम लिए बापत मल्लिका दाहालको नाममा अधिकारीले नविल बैकको रु ३७ लाख रुपैयाको चेक दिएका थिए । सो चेक तोकिएको समयमा सटही हुन नसकी बाउन्स गरिएको थियो । त्यसपछि चेकमा उल्लेखित रकम माग गर्न मल्लिका दाहाल केशव प्रसाद अधिकारीलाई फोन मार्फत कुरा गरि घरमा भेट्न जाँदा अधिकारीले उल्टै आफुलाई अपहरण गर्न आएको भनि प्रहरीलाई झुटो खबर गरेका थिए ।

यतिमात्र नभएर अधिकारीले जिल्ला प्रशासन कार्यालय नवलपुरमा मल्लिका दाहालविरुद्ध अनुचित लेनदेन (मिटरव्याजी) को आरोप लगाई माघ २३ गते निवेदन समेत दिएका थिए । उक्त निवेदनको बारेमा दुवै पक्षलाई छलफलको लागि कार्यालयमा बोलाउदा अधिकारीले उल्टै प्रहरी टोलीसँग बादविवाद गरि अश्लिल शब्दमा गालिगलोज गरेपछि उनलाई नियन्त्रणमा लिईएको नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

अधिकारीले आफुले लिएको ऋण नतिर्ने मनसायले अनुचित लेनदेन (मिटरव्याज) को आरोप लगाउनुको साथै अपहरण हुन लागेको भनि प्रहरीलाई भ्रममा पारी अफवाह फैलाएको हुनाले उनलाई कानुन बमोजिम नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

कमेन्टहरु