समाचार

स्क्वायर होटलकी सञ्चालिका रोमी अर्याल पक्राउ

जगत ठाडा मगर
२०८० माघ २३ | बिहान ११:१० बजे

काठमाडौं, माघ २३ । ललितपुरको पुल्चोकस्‍थित स्क्वायर होटलकी प्रबन्ध निर्देशक रोमी अर्याललाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरले होटलकी सञ्चालिका अर्याललाई सोमबार पक्राउ गरेको एसपी नवराज कार्कीले बताए । रोमी आफैं परिसरमा उपस्थित भएकी थिइन् । होटलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले माघ ७ मा प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । अदालतको आदेश अनुसार ललिता अहिले ‘तारेख’मा छिन् । उनीहरू विरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो ।

गत भदौ १४ गते होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्यलाई करेन्ट लागेर गम्भीर घाइते भएका थिए । शाक्यले स्वीमिङ पुल छेउको स्पट लाइटमा छुँदा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनी अहिलेसम्म अचेत अवस्थामा छन् ।

त्यसपछि परिवारले होटलका दुई जना सञ्चालकविरूद्ध जाहेरी दिएका थिए । प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु