रौतहटको विभिन्न स्थानबाट अबैध काठसहित एक जना पक्राउ


रौतहट । वन कर्मचारीले रौतहटका दुई ठाउँबाट काठ बरामद गरेको छ । जिल्लाको वृन्दावन सब-डिभिजन र चेतनगर सब-डिभिजन अन्तर्गतको जङ्गलबाट अबैधरुपमा काठ तस्करी गरिरहेको अवस्थामा वन कर्मचारीले चारवटा साइकल, चार थान सालको गोलिया‚ एउटा मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको हो ।
त्यसैगरी वृन्दावन सब-डिभिजन वन कार्यालय अन्तर्गतबाट काठ चोरी तस्करी गरेर लगिरहेको अवस्थामा वन कर्मचारीले तीन थान सालको गोलिया, दुई थान साइकल र एक थान मोटरसाइकलसहित एकजना तस्कर पक्राउ गरेको प्रहरीले जानकारी दिएका छन ।
पक्राउ पर्नेमा गढिमाई नगरपालिका-९ इनारवाका राकेशकुमार साह रहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ। पक्राउ परेका साहलाई BR-06 BK 5769 नम्बर प्लेटको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
शुक्रबार राति करिब ८ बजेको समयमा वृन्दावन सब-डिभिजन वन कार्यालयका जमदार शेख अनवरको नेतृत्वमा खटिएको वन गस्ती टोलीले साहसहित काठ साइकल र मोटरसाइकल बरामद गरेको हो।
बरामद भएको काठ‚ साइकल र मोटरसाइकल वृन्दावन सब-डिभिजन वन कार्यालयमा ल्याएर राखिएको छ भने काठसहित पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुर पठाइएको वृन्दावन सब-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनिल महतोले जानकारी दिएका छन्।
यस्तै सब-डिभिजन वन कार्यालय चेतनगरअन्तर्गतको जङ्गलबाट चोरी तस्करी गरी ल्याइरहेको काठ वन कर्मचारीले बरामद गरेको छ। शुक्रबार मध्यराति करिब १८ क्युफिटको सालको गोलिया दुईवटा साइकलमा ल्याइरहेको अवस्थामा वन कर्मचारीले उक्त काठ बरामद गरेको हो । वन कर्मचारीलाई देखेर तस्कर भागेको सब-डिभिजन वन कार्यालय चेतनगरले जनाएको छ।























