खेलकुद

इन्टर स्कुल क्रिकेट : गोगल माविको सुरुवाती जित

दिपेश कुमार शाह
२०८० माघ १९ | मध्यान्ह ०८:१० बजे

जनकपुरधाम, माघ १९ । जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा गोगल प्रसाद माविले पाँच विकेटले जित हासिल गरेको छ । गोगल मावि प्रथम इन्टर स्कुल क्रिकेट कपको विजेता पनि हुन् । गोगल प्रसाद मावि टस जितेर सुरुवातमा मदर ट्रेसा पब्लिक स्कुललाई ब्याटिङका लागि आमन्त्रण गरेका थिए । मदर ट्रेसाका खेलाडीहरु निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय सात रनको लक्ष्य प्रतिद्वन्द्वी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि सरोज यादव ३७ बलमा २५ र किसन साह १९ बलमा २१ रनको योगदान दिए ।

गोगलका लागि बलिङ गरेका विमलेश सहानी चार ओभरमा १५ रन खर्चेर एक विकेट र धिरज दासले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए । दास एक मेडन ओभर समेत फालेका थिए । जवाफ ब्याटिङका लागि आएका गोगल मावि १७ ओभर एक बलमा पाँच विकेट गुमाएर लक्ष्य पुरा गरेका थिए । यस टिमका लागि विवेक भण्डारी १६ बलमा २४ र विमलेश सहानी १९ बलमा २१ रन बनाए । यस खेलको म्यान अफ दी म्याच गोलका विमलेश सहनी घोषित भएका थिए ।

photo 2024 02 02 20 12 39

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ । प्रत्येक टिमले तीन म्याच अनिवार्य खेल्ने छन् । न्यू भिजन नेपालको अध्यक्ष अम्भु प्रसाद साहको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा नगर प्रमुख मनोज साहको प्रमुख अतिथ्यता रहेको थियो ।

साथै BYD 2nd INTER SCHOOL CRICKET CHAMPIONSHIP 2080 समुद्घाटन समारोहमा नेपाल कृकेट संघका उपाध्यक्ष श्री रोशन सिंह ज्युको विशिष्ट आतिथ्य र अतिथिको रुपमा वडाध्यक्ष श्री रामचन्द्र पजियार, श्री परमेश्वर साह, श्री मिथिलेश कर्ण, श्री दिनेश सिंह र श्री दिपेन्द्र साह कार्यक्रममा सहभागि भएका थिए ।

कमेन्टहरु