पूर्वी-नवलपरासीको कावासोतीमा पर्यटन प्रवर्द्धनका लागि चरा उत्सव, विदेशी पनि सहभागी


कावासोती । पूर्वी-नवलपरासीको कावासोतीमा ‘चरा उत्सव’ आयोजना गरिने भएको छ । ‘वल्र्ड एजुकेसन सोसाइटी’ले माघ २६ देखि २८ गतेसम्म ‘नेपाल चरा उत्सव’ आयोजना गर्न लागेको हो ।
चराको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले ‘चरा उत्सव’ आयोजना गर्न लागेको कार्यक्रमका संयोजक मनशान्त घिमिरेले जानकारी दिए । नेपालमा पहिलो पटक सन् २०१८ मा चरा उत्सव भएको थियो । पछि सन् २०१९ मा कास्कीको पोखरामा आयोजना गरिएको थियो । त्यसबेला पाँचबुँदे घोषणापत्र जारी गरिएको थियो ।
कोभिड–१९ महामारीका कारण त्यसयता रोकिएको चरा उत्सव पुनः आयोजना गर्न लागिएको हो । उत्सवमा जैविक विविधताको क्षेत्रमा काम गर्ने ३९ सङ्घसंस्थाका प्रतिनिधिसहित भारत, भूटान, श्रीलङ्का, मलेसिया, हङकङ, सिङ्गापुर, फिलिपिन्स, जापान, स्विजरल्यान्ड, अमेरिका, आयरल्यान्ड, बेलायतलगायत देशबाट पनि प्रतिनिधित्व रहने सोसाइटीका अध्यक्ष टीकाराम गिरीले बताए ।
उत्सवका दौरान पंक्षी पहिचान तालिम, ट्रेल प्याकेज, फोटो प्रदर्शनी, पंक्षीकला प्रतियोगिता, पक्षी अवलोकन, गिद्धका गतिविधि अवलोकन, जङ्गल सफारी, लोकसांस्कृतिक प्रस्तुति, पक्षी सँगोष्ठी, कक्ष प्रदर्शनी, निःशुल्क स्वास्थ्य शिविरलगायत गतिविधि गरिने छन् ।























