नवलपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


नवलपुर, माघ १७ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैडाकोट नगरपालिका – ५ कालीगण्डकी चोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज (बुधबार) मध्याह्न साढे १२ बजेतिर पोखराबाट गैडाकोटतर्फ आउँदै गरेको ग १ ख ८५४७ नम्बरको बसले सोही दिशा तर्फबाट आउँदै गरेको ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको भरतपुर महानगरपालिका – १७ बेलुवा बस्ने ६३ वर्षीय बलराम पौडेल गम्भीर घाइते भएका थिए ।
बागमती प्रदेशको पूर्व मन्त्रीसमेत रहेका पौडेललाई उद्धार गरी उपचारको लागि जिल्ला सरकारी अस्पताल भरतपुर चितवन पठाएकोमा उपचारको क्रममा उनको करिब १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
घटनाको जानकारीपश्चात् प्रहरी निरीक्षक हस्त बहादुर सुनारको कमाण्डमा ८ जनाको टोली खटी गई मोटरसाइकल, बस र बस चालक लमजुङको राईनस नगरपालिका – २ बराङखोला बस्ने बर्ष-२६ को बिष्णु बहादुर कामीलाई नियन्त्रणमा लिइएको थियो । घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।























