कोशी प्रदेशबाट नेपाली कांग्रेसका सिटौला निर्वाचित

जगत ठाडा मगर
२०८० माघ ११ | मध्यान्ह ०५:१० बजे

विराटनगर, माघ ११ । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार कृष्ण प्रसाद सिटौला विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै विजयी भएका हुन् ।
सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा उद्धवले ४७ सांसदको मत पाए । यस्तै उम्मेदवारी निष्क्रिय बनाएपनि एमालेका पर्शुराम अधिकारीले पनि प्रदेशतर्फ १ मत पाए । यसैगरी स्थानीय तहतर्फ सिटौला १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाए । यस्तै एमालेका पर्शुरामले ५ जनाको मत पाए ।
जसअनुसार विजयी सिटौलाले कुल ५२९२ मतभार प्राप्त गरे भने पौडेलले ४५६२ मतभार प्राप्त गरे । यस्तै अधिकारीले १४८ मतभार प्राप्त गरे ।























