राष्ट्रियसभा निर्वाचन : गण्डकीबाट कांग्रेसका श्रेष्ठ, परियार र माओवादीकी शर्मा विजयी


पोखरा, माघ ११ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपाङ्गतातर्फ कांग्रेसका पदमबहादुर परियार र महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् ।
बिहीबार सम्पन्न निर्वाचनमा श्रेष्ठले ३ हजार ८ सय ८ मतभारसहित विजयी भएका हुन् । श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाले मत दिएका थिए । विपक्षी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६९ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । अन्य कोटामा गठबन्धनको स्थानीय तहतर्फ १ जनाले मत क्रस गरेका छन् ।
यस्तै अपाङ्गतातर्फ विजय भएका परियारले ३ हजार ७ सय ७४ मतभार पाएका थिए । उनलाई स्थानीय तहका १ सय १ प्रमुख तथा उपप्रमुख र ३५ जना प्रदेश सांसदले मत दिएका थिए । परियारका प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाएका थिए । उनलाई स्थानीय तहका ६८ जना प्रमुख तथा उपप्रमुख र प्रदेशका २२ जना सांसदले मत दिएका थिए । निर्वाचन कार्यालयका अनुसार अपाङ्गतातर्फ ३ मत बदर भएको छ ।
त्यसैगरी गण्डकी प्रदेशबाट महिला क्लष्टरमा विजयी भएकी शर्माले ३ हजार ६ सय ६० मतभार पाएकी छन् । शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिएका थिए । विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मत पाइन् । उनलाई स्थानीय तह तर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । गठबन्धनको स्थानीय तहतर्फ १ सय १ जना जनप्रतिनिधिमध्ये ५ जनाले विपक्षीलाई मतदान गरेका हुन् । स्थानीय तहमा १ भोट र प्रदेशतर्फ पनि १ भोट बदर भएको थियो ।
राप्रपाका उम्मेदवारले स्थानीय तहबाट कुनैपनि मत पाएनन् भने प्रदेशसभाका २ सांसदले राप्रपा उम्मेदवार गौमाया श्रेष्ठलाई मतदान गरे । स्थानीय तहतर्फ बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपाली मतदानमा सहभागी भएनन् ।























