निर्वाचन, लुम्बिनी प्रदेश

राष्ट्रियसभा निर्वाचनः लुम्बिनीमा दुई सदस्य छान्न मतदान हुँदै

नवलपुर टुडे
२०८० माघ ११ | बिहान ०७:१० बजे
फाइल तस्बिर

दाङ । लुम्बिनीबाट दुई जना राष्ट्रियसभा सदस्य छान्न निर्वाचन हुँदैछ । बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई वटा मतदान केन्द्र बनाइएको छ । ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यहरूले मतदान गर्ने छन् भने ‘ख’ मतदान केन्द्रमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुख गरेर दुई सय १८ जनाले मतदान केन्द्र व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

मतदान केन्द्रमा दश-दश जनागरी २० जना कर्मचारी खटिनेछन् । एउटा मतदान केन्द्रमा मदतान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कर्मचारी सहयोगीगरी दश जना हुनेछन् ।

निर्वाचन सुरक्षाकोलागी गृह मन्त्रालयले दिएको जिम्मेवारी अनुसार जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट पाँच राजनीतिक दलका ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

लुम्बिनीमा अन्य र महिला ‘कलस्टर’का दुई पदका लागि निर्वाचन हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले महिला कलस्टरमा गुल्मीकी विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ ।

गठबन्धनबाटै नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदी उम्मेदवार छन् । मतभारका हिसाबले लुम्बिनी प्रदेशमा दोस्रो शक्तिका रुपमा रहेको नेकपा एमालेले अन्य कलस्टरतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्री, महिलातर्फ दाङकी तुलसाकुमारी केसीलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट अन्यमा उम्मेदवारी दिएका रुपन्देहीका निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् । राप्रपाले महिला कलस्टरमा कपिलबस्तुकी विजया लक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ । उनको उम्मेदवारी भने कायम छ ।

जनमत पार्टीको तर्फबाट अन्य कलस्टरमा नवलपरासीका बाल गोविन्द चौधरी चुनावी प्रतिस्पर्धामा छन् । राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीको कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।

लुम्बिनीमा कुल आठ हजार सात सय ५३ मतभार रहेकोमा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रीक समाजवादी पार्टीको मतभार जोड्दा पाँच हजार चार सय ४२ पुग्छ । बाँकी एमालेसँग दुई हजार आठ सय १०, राप्रपासँग दुई सय ६९ र जनमत पार्टी संग एक सय ५९ मतभार छ ।

लुम्बिनीमा ८७ जना प्रदेशसभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन् ।

कमेन्टहरु