निर्वाचन, लुम्बिनी प्रदेश

लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचनको तयारी अन्तिम चरणमा

नवलपुर टुडे
२०८० माघ ९ | मध्यान्ह ०७:१० बजे

दाङ, माघ ९ । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको तयारी लुम्बिनी प्रदेशमा अन्तिम चरणमा पुगेको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन सामाग्रीको व्यवस्थापन, कर्मचारीलाई जिम्मेवारी तोक्ने काम, सुरक्षा व्यवस्थापनको काम सकिएको छ।

अब मतदान केन्द्र निर्माणको मात्रै काम बाँकी रहेको छ। कर्मचारी मिलन केन्द्र घोराहीमा दुई वटा मतदान केन्द्र हुनेछन्। ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेश सभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मतदान केन्द्रमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुख गरेर दुई सय १८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कवरले जानकारी दिए।

‘लगभग सबै तयारी पूरा भएको छ। अब मतदान केन्द्र निर्माण र मतदानको काम मात्रै बाँकी छ,’ उनले भने,‘निर्वाचन कार्यालयको तर्फबाट गर्नुपर्ने सबै काम भएको छ।’

निर्वाचन सामाग्रीहरु मतपत्र, मतदाता नामावली, व्यालेट बक्सलगायतका ६०/६५ वटा सामाग्रीको व्यस्थापन गरिएको छ भने कर्मचारीलाई जिम्मेवारी तोक्ने काम पनि भएको छ। दुई वटा मतदान केन्द्रमा दश/दश जना गरी २० जना कर्मचारी खटिनेछन्।

एउटा मतदान केन्द्रमा मदतान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कर्मचारी सहयोगीगरी दश जना हुनेछन्। निर्वाचन सुरक्षाको लागि गृह मन्त्रालयले दिएको जिम्मेवारीअनुसार जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले सुरक्षाकर्मीहरु परिचालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट पाँच राजनीतिक दलका ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। लुम्बिनीमा अन्य र महिला कलस्टरका दुई पदका लागि निर्वाचन हुँदै छ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले महिला कलस्टरमा गुल्मीकी विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ। गठबन्धनबाटै नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनाएको छ।

मतभारका हिसाबले लुम्बिनी प्रदेशमा दोस्रो शक्तिका रुपमा रहेको नेकपा (एमाले)ले अन्य कलस्टरतर्फ पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री, महिलातर्फ दाङकी तुलसा कुमारी केसीलाई उम्मेदवार बनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट अन्यमा उम्मेदवारी दिएका रुपन्देहीका निरञ्जन कुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन्। राप्रपाले महिला कलस्टरमा कपिलवस्तुकी विजया लक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ। उनको उम्मेदवारी भने कायम छ। जनमत पार्टीको तर्फबाट अन्य कलस्टरमा नवलपरासीका बाल गोविन्द चौधरी चुनावी प्रतिस्पर्धामा छन्।

लुम्बिनीमा कुल आठ हजार सात सय ५३ मतभार रहेकामा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीको मतभार जोड्दा पाँच हजार चार सय ४२ पुग्छ।

एमालेसँग दुई हजार आठ सय १०, राप्रपासँग दुई सय ६९ र जनमत पार्टीसँग एक सय ५९ मतभार छ। लुम्बिनीमा ८७ जना प्रदेशसभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन्।

कमेन्टहरु