दाङमा रात्री बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते


दाङ, माघ ८ । दाङमा गएराती बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दाङको लमही नगरपालिका-९ स्थित रिहार नजिकै दुर्घटना भएको दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिकाका–१ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको डिएसपी मल्लले बताए । डिएसपी मल्लका अनुसार सडकको भित्तामा बस ठोक्किदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो ।
बसमा ४७ जना सवार रहेका मध्ये चालकसहित दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतक दुबै जनाको शव पोष्टमर्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























