रुपन्देहीमा महिलाहरूको लगानी र नेतृत्वमा विशेषज्ञसहितको अस्पताल सञ्चालन


रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ मा महिलाहरूको लगानी र नेतृत्वमा विशेषज्ञसहितको अस्पताल सञ्चालन भएको छ । स्वास्थ्यसहित विभिन्न क्षेत्रमा रहेका २१ महिला र ४ पुरुषहरूले लगानी गरेर ओम महिला तथा बाल अस्पताल सञ्चालनमा ल्याएका हुन् ।
अस्पतालको नेतृत्व र सबै कमिटीमा महिलाहरू रहेका छन् । स्थानीय सरकार तिलोत्तमा नगरपालिकाबाट १५ बेडको स्वीकृति लिएको यो अस्पताललाई आगामी दिनमा सय शय्यामा बिस्तार गरिने जनाइएको छ । स्थानीय सरकारबाट स्वीकृति पाएर रुपन्देहीमा सुरु भएको पहिलो अस्पताल हो ।

उनले सरकारबाट स्वीकृति लिई १०० बेड बनाउने र अस्पतालमा आमा सुरक्षा कार्यक्रम पनि लागू गर्न प्रयास भइरहेको बताइन् । अस्पतालकी एमडी कमला मल्ल हमालले स्वास्थ्य सेवालाई व्यापार सँग मात्र नहेरी सेवाकै दृष्टिकोणबाट आफूहरू लागेको बताइन् । अस्पतालमा हाल ३०० सय रुपैयाँ ओपिडी टिकट र यसलाई निकट भविष्यमै १ सय रुपैयाँ बनाइने पनि उनले बताइन् । त्यस्तै जनरल एसी बेडको १ हजार २ सय र क्याबिनको ३ हजार शुल्क रहेको उनको भनाइ छ ।
अस्पतालमा ओटी सेटअप, एक्सरे, अल्ट्रासाउण्ड, गाइनो सेवा, भेन्टिलेटरसहितको एनआईसी सेवा र दूरविनद्वारा गरिने सबै सल्यक्रियाका सेवाहरु उपलब्ध रहेको अस्पतालकी एमडी हमालले बताइन् । अस्पतालमा ६५ जना कर्मचारीहरूमध्ये अधिकांश महिला नै छन्। ०७७ साल साउन ७ गते पूर्व पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले शिलान्यास गरेको यो अस्पताल ०८० जेठबाट सञ्चालनमा आए पनि आइतबारदेखि औपचारिक रूपमा शुभारम्भ भएको सञ्चालक उमा अर्याल ढकालले बताइन् ।

उनले तिलोत्तमा नगरपालिकाका भित्रकालाई एम्बुलेन्स निःशुल्क र नगरका क्षेत्रलाई शुभारम्भको अवसरमा १०–२० प्रतिशत समेत छुट प्रदान भइरहेको बताइन्।हालसम्म १७ सयभन्दा बढीले यस अस्पतालबाट सेवा लिई सकेको र अस्पतालबाट सुलम, सुपथ र गुणस्तरीय सेवा उपलब्ध भइरहेको उनको भनाइ छ । अस्पतालको आइतबार तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले उद्घाटन गरेका छन् ।























