मधेश प्रदेश

राैतहटमा स्यालको टोकाईबाट १२ जना घाइते

अशोक यादव
२०८० माघ ५ | मध्यान्ह ०१:१० बजे

रौतहट, माघ ५ । बहुला स्यालको टोकाईबाट रौतहटको गढीमाई नगरक्षेत्र अन्तर्गत महिला बालबालिकासहित १२ जना मानिस घाइते भएका छन् । गढीमाई नगरपालिका – ७ का स्थानीय गोठालाहरू बिहीवार साँझ घाँस काट्न खेतमा गएको बेला उखुघारीबाट एक्कासी आएको बहुला स्यालले आक्रमण गरी महिला बालबालिकासहित १२ जनालाई घाइते बनाएको हो ।

बहुला स्यालको टोकाइबाट गढीमाई नगरपालिका वडा नं ७ का वर्ष ७० का महेन्द्र महतो, ४५ वर्षकी मन्तोरिया देवी, ६० वर्षकी तेतरी खातुन,  ४० वर्षकी जयबुल खातुन, १५ वर्षकी मनिषा कुमारी, ५५ वर्षकी उषा देवी, २७ वर्षका रामाविनय बैथा, ३५ वर्षकी दुखीया देवी, ३० वर्षकी बिना देवी, ९ वर्षको श्रावण कुमार, ७२ वर्षकी सिकीलावा देवी र ७० वर्षका जयल मुखियालाई घाईते भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमा प्रकाश खनालले बताएका छन् ।

स्यालको आक्रमणबाट गढीमाईको धर्मपुर, धनहारी र लक्ष्मीपुर टोल, मुसहरी टोलका महिला पुरुष बालबालिका घाईते भएका हुन् । घाईते मध्ये अवस्था गम्भीर रहेकी ६० वर्षकी तेतरी खातुनलाई रातिनै एम्बुलेन्सबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज बिरगंज पठाइएको छ । खातुनको नाक मुखमा गहिरो खत बनाएकाले प्रादेशिक अस्पताल गौरमा गएराति सामान्य उपचार पछि नेशनल मेडिकल बिरगंज पठाईएको डिएसपी खनालले जानकारी दिएका छन् ।

स्यालले टोकेपछि लगाइने खोप स्थानीय अस्पतालमा उपलब्ध नभएकाले घाइते सबैजना प्रादेशिक अस्पताल गौर पठाईएको थियो । घाईतेमध्ये अधिकांश हाल प्रादेशिक अस्पताल गौरमा रहेका छन भने केही बिरामी उपचारपछि घर फर्की सकेका छन् । स्यालले जथाभावी टोक्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

स्यालको टोकाइबाट दुई वर्ष अघि गरुडाका एकजना युवकको मृत्यु भएको थियो ।

कमेन्टहरु