स्वास्थ्य

प्रादेशिक अस्पताल गौर मेसुविहीन, बिरामीको उपचारका लागि ग्लोब्ससमेत उपलब्ध छैन

अशोक यादव
२०८० माघ ३ | मध्यान्ह ०८:१० बजे

रौतहट, माघ ३ । रौतहटको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा दिन प्रतिदिन बिरामीको संख्या घट्दै गएको छ । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गैर जिम्मेवारीको कारण प्रादेशिक अस्पतालको सेवा प्रभावित हुँदै गएको हो ।

प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको विवादका कारण प्रमुखविहीन भएको अस्पतालमा कार्यरत रहेका चिकित्सकहरु विगत तीन महिनादेखि तलब, भत्ता पाउनबाट समेत बन्चित भएको छ । पछिल्लो समय विरामीहरुको भीड लाग्ने अस्पतालमा मेसु सरुवाको विषयलाई लिएर विवाद सृजना भएपछि उपचार गराउन आउने विरामीको चाप न्यून भएको हो ।

कार्यालय प्रमुख नहुँदा स्वास्थ्यकर्मी तलब भत्ता पाउन नसकेको र मन्त्रालयले मेसुको टुङ्गो लगाउन समेत नसकेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मोहमद अनवर हासमीले बताएका छन । गौर अस्पताल प्रति आम नागरिकमा रहेको अविश्वासलाइ चिर्दै उपचारको वातावरण बनाउन प्रयास गरेको र सेवा प्रबाहमा सुधार ल्याएको बेला प्रदेश सरकारले गरेको चलखेलले फेरी अस्पताललाइ पहिलाकै अवस्थामा फर्काएको गुनासो अध्यक्ष हासमीको रहेको छ ।

मेसुको विवाद समाधान गर्न पटक पटक ध्यानाकर्षण गराउदा पनि सम्बन्धित मन्त्रालय तथा मुख्यमन्त्री कार्यालयले कुनै चाँसो देखाउन नसकेको आरोप उनको रहेको छ । कार्यालय प्रमुख नहुँदा अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको बताउँदै अध्यक्ष हासमीले कर्मचारीको व्यवस्थापन छिटो गर्न आग्रह समेत गरेका छन् ।

प्रादेशिक अस्पताल गौरमा कार्यरत रहेका मेसु डाक्टर कृष्णा साहको सरुवा गरेर डाक्टर संजीव सिंहलाइ पठाएको र पछि गएको कार्तिक महिनामा फेरी डाक्टर सिंहलाइ सरुवा गरेर डाक्टर साहलाइ मेसुको रुपमा मन्त्रालयले पठाएपछि डाक्टर सिंहले मुख्यमन्त्री तथा स्वास्थ्यमन्त्री र मन्त्रालयलाइ विपक्षी बनाएर उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा रिट दायर गरेपछि अस्पताल मेसु बिहीन भएको छ ।

रिट दायर गरेका डाक्टर सिंह बढुवा भएपछि पनि मन्त्रालयले पदस्थापन नगरेको बुझिएको छ । कार्यालय प्रमुखविहीन भएको कारण अस्पतालमा औषधिको अभाव भएको छ । उपचार गराउन आउने बिरामीहरु निजी अस्पतालमा चर्को शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन् ।

आकस्मिक कक्षका इन्चार्ज स्वास्थ्यकर्मी राजेश सिंहका अनुसार ग्लब्स पनि उपलब्ध नरहेकोले तत्काल उपचार गर्न समस्या हुने गरेको छ । तीन महिनादेखि तलब, नाइट भत्ता, आईसीयू भत्ता नपाएको भन्दै कार्यरत ११ जना चिकित्सकले माघ ७ गतेदेखि तालाबन्दी गरेर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

डाक्टर फिरोज, डाक्टर विक्रान्त मेहता, उज्जवल ठाकुर, गोपाल गुप्ता, डाक्टर अमित कुमार चौधरी, रंजन ठाकुर, परशुराम यादव, चन्दन कुमार सहनी, शेखर जायसवाल र डाक्टर नविन सागर यादवले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

photo 2024 01 17 20 45 45

कमेन्टहरु