नगर प्रमुख र आन्दोलनरत जनप्रतिनिधिबीच सहमति भएपछि खुल्यो कटहरिया नगरपालिकामा लगाइएको ताला


राैतहट, माघ २ । रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख र आन्दोलनरत जनप्रतिनिधिबीच सहमति भएपछि कटहरिया नगरपालिकामा लगाइएको ताला मंगलबार खोलेकाे छ । प्रमुख अजय प्रकाश जयसवालले आन्दोलनकारीहरुको आठ बुँदे मागलाई कार्यपालिका बैठकमा पेश गरी सम्बोधन गर्ने प्रतिबद्वता व्यक्त गरेपछि ताला खोलेको हो ।
विभिन्न ८ बुँदे माग राख्दै नगर उपप्रमुख रिता देवी यादवको नेतृत्वमा ४ जना वडा अध्यक्षले गत पुस २३ गतेदेखि कटहरिया नगरपालिकामा तालाबन्दी गरेका थिए । नगरप्रमुख जयसवालले सबै माग पूरा गर्ने प्रतिबद्वता जनाएपछि तालाबन्दी खोलिएको वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले पत्रकार दिपेश कुमार शाहलाई बताए ।
नगरभरिका जनताले खपत गरेको विद्युत महसुल बुझाउने, आ.व. ०७९/०८० को हिसाबमा पारदर्शीता कायम गर्ने, कर्मचारीको विवरण सार्वजनिक गर्ने, कर्मचारीको बाँकी तलब भुक्तानी गर्ने, इन्धन खर्च सार्वजनिक गर्नेलगायतका मागमा नगर प्रमुख जयसवाल र आन्दोलनरत जनप्रतिनिधिबीच सहमति भएको वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले जानकारी दिए ।























