मधेश प्रदेश

प्रचण्ड नेतृत्वको सरकारमा ठगी धन्दाले प्रश्रय पाईरहेको अनुभुति, अभियान डिजिटलद्धारा करोडौंको ठगी, सञ्चालक मालामाल

रंजित चौरसिया
२०८० माघ २ | मध्यान्ह ०७:१० बजे

वीरगंज, माघ २ । अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड नामक व्यवसायिक फर्मले सर्वसाधारणहरुको आँखामा धुलो झोकी करोडौं करोड ठगी गर्दै गरेको रहस्य बाहिर छताछुल्ल भए पनि कारवाही गर्ने नियमनकारी निकायहरु आफ्नो भाग खादै हालसम्म चुपी साधेर बस्नुले सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् । अभियानको ठगी धन्दा बारे स्थानिय प्रहरी प्रशासनलाई सुुक्ष्म तरिकाले थाहा हुंदा हुँदै पनि कारवाही नगर्नुले पनि रकम खादै गरेको पुष्टि हुदै गरेको देखिन्छ ।

यता अभियानका सञ्चालकहरुले जसले जे गरे पनि आफुहरुलाई कुनै किसिमको कारवाही नहुने र आफुले कमाउदै गरेको रकमबाट नियमनकारी निकायहरुलाई भाग दिने गरेको चियापसलहरुमा खुल्लेयाम भनिरहदाँ सुन्नेहरु आश्चर्य चकित हुंदै स्थानिय प्रहरी प्रशासनलाई नराम्रो दृष्टिकोणले हेर्न थालिए पनि लाजशर्म पच्चाएर भए पनि मौन बसिएको अवस्था छ । अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड नामक फर्मले काठमाडौंमा ईलेक्ट्रोनिक सामानहरु एसेम्बलीङ गरी विक्री गर्ने अनुमति लिए पनि पर्सा जिल्लामा करिब ८ हजार सदस्य बनाई महिनै पिच्छे ११ सय ७५ को दरले रकम जम्मा गरी युट्युब मार्फत चिठा खोल्दै करोडौं करोड ठगी गरिरहेको बताईन्छ ।

photo 2024 01 16 19 11 51

सोझासाझा जनतालाई सदस्य बनाई चिठा खेलाउदै गरेका घडिअर्वा निवासी दिपेश वर्णवाल, रानीघाट निवासी सुशिल सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्ता जस्ता नटवरलालहरुलाई कारवाहीको दायरामा नल्याएर लुटतंन्त्रलाई पर्सा प्रहरी प्रशासनले बढावा दिईरहेकोमा प्रचण्ड नेतृत्वको सरकारमा ठगी धन्दाले प्रश्रय पाईरहेको अनुभुति हुन थालेको पिडितहरुको भनाई रहेको छ । सो अभियान दोल्खा निवासी महानटवरलाल विष्णु प्रसाद काफ्लेको नाममा दर्ता रहे पनि कमिशनवेसमा वीरगंज निवासी नटवरलालहरु दिपेश, सुशिल र ऋषिकान्तले हजारौं सोझासाझा जनतालाई ललिपप देखाउदै चिठा खोल्दै ठग्ने गर्दै आएको बताईन्छ । अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड काठमाडौंले उद्योग स्थापना गर्ने उदेश्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरी उदेश्य बिपरित नेपालको दर्जनौ ठाउंमा चिठ्ठा र किस्ताबन्दीको नाममा ठगी गरिरहेको पाईएको छ ।

सो कम्पनीका संचालक दोलखा निवासी विष्णु प्रसाद काफ्लेले उद्योग स्थापना गर्ने ठेगाना काठमाडौं महानगरपालिका वडा नं. १३ मा देखाए पनि उनी देशको दर्जनौ स्थान काठमाडौं, नारायणघाट, राजविराज, बुटवल, भैरहवा, वीरगंज लगायतका ठाउंहरुमा चिठ्ठा र किस्ताबन्दी खेलाउदै करोडौं करोड दिनदहाडै ठगी गरिरहेको स्रोतको भनाई रहेको छ । वीरगंजको कार्यालय बसपार्क त्रिशुल चौक नजिकै रहेको छ । वीरगंजमा मात्र चिठ्ठा र किस्ताबन्दीको सदस्य बन्नेहरुले प्रवेश शुल्क रु. ५० र मासिक शुल्क ११ सय ७५ रुपैया कम्पनीको प्रतिनिधि मार्फत जम्मा गर्ने गरेका छन् । जम्मा सदस्यहरु ७ हजार ९ सय ९९ रहेको किस्ताबन्दीमा सहभागी एक सदस्यले बताए । मासिक ११ सय ७५ को दरले ७ हजार ९ सय ९९ जनाको रकम ९३ लाख ९८ हजार ८ सय २५ रुपैया आउंछ भने २४ औं किस्तासम्म चल्ने सो किस्ताबन्दी २४ महिनामा २२ करोड ५५ लाख ७१ हजार ८ सय जम्मा गर्ने लक्ष्य वीरगंज कार्यालयको रहेको सदस्यहरुले नै बताउन थालेका छन् ।

किस्ताबन्दी खेल्ने सदस्यहरुलाई मात्र युटयुबमा जोडी मुख्य सञ्चालक विष्णु प्रसाद काफ्लले गोला प्रथा मार्फत काठमाडौंको गोप्य ठाउँमा चिठ्ठा खोल्ने गरेका छन् । मासिक पिच्छै चिठ्ठा किस्ताबन्दीको रुपमा कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरु देखाउदै सदस्यहरुलाई लोभ्याउदै आएका छन् । दिपेश वर्णवालको ईतिहास खोतल्दै जाँदा उनी जहिले पनि बिवादित र नेटवर्किङ्गको कार्यलाई निरन्तरता दिदै सोझासाझा जनतालाई ठग्नमा माहिर नै मानिएका जानिफकारहरु बताउदंछन् । चिट्ठा ऐन २०२५ को दफा २ मा चिट्ठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको छ ।

photo 2024 01 16 19 11 49

तर दफा ३ मा नेपाल सरकारको स्विकृति लिएर चिट्ठा खोल्न सकिने व्यवस्था पनि रहेको छ । ३ को उपदफा (क) मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धि कार्यको सहायतार्थ चिट्ठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिट्ठा खोल्दा चिट्ठा विक्रि भई प्राप्त भएको कुल रकम मध्येबाट ६० प्रतिशत पुरस्कार बाँडिने छ । त्यसपछि बाकी हुन आएको रकमलाई सम्बन्धित संस्थाले परोपकारी सार्वजनिक हित सम्बन्धि र चिट्ठा सञ्चालन सम्बन्धि काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ । तर गैरकानुनी रुपले चिट्ठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख छ ।

यस सन्दर्भमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले कानुन बिपरित कार्य गर्ने कसैलाई छुट छैन, यथाशिघ्र कारवाहीको प्रक्रिया अगाडि बढने प्रतिक्रिया दिए । यसै सन्दर्भमा मधेश प्रदेशका नव आगन्तुक प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेलले म नयाँ आएको छु, यस विषयमा के रहेछ ? एक दुई दिनमा बुझेर प्रतिक्रिया दिने बताए ।

कमेन्टहरु