शिक्षा

राैतहटकाे एक प्राथमिक विद्यालयमा भाैतिक संरचना नहुँदा बालबालिका भुईमा बसेर पढ्न बाध्य

जगत ठाडा मगर
२०८० माघ २ | मध्यान्ह ०४:१० बजे

अशोक यादव
रौतहट, माघ २ । रौतहटको उत्तरी भेग चन्द्रपुर नगरपालिका वडा नं. १० मा रहेको सरस्वती प्राथमिक विद्यालयको भौतिक संरचना नहुँदा विद्यार्थीहरुलाई समस्या भएको छ । पक्की संरचना नहुँदा फुसको छानो, फुसकै बार भएको कक्षा कोठाको भुइँमा बसेर विद्यार्थी पढ्न बाध्य भएका छन् ।

कक्षा ३ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा अहिलेसम्म भौतिक संरचना निर्माण हुन सकेको छैन । २ कठ्ठा ५ धुर जग्गा रहेको विद्यालयमा एउटा शौचालय र एउटा ट्युवेल जडान गरिएको छ । बस्ने डेस्क–बेन्च समेत नहुँदा चिसो भुइँमा बसेर विद्यार्थीहरु पढिरहेका छन् भने पढाउन ह्वाइट बोर्ड समेत नरहेको स्थानीयको गुनाँसो छ ।

विद्यालयमा भौतिक पूर्वाधार र शिक्षकसमेत नहुँदा पठनपाठनमा समस्या भएको स्थानीय रामकलावती चौधरीले बताइन् । विद्यालयमा अधिकांश दलित तथा विपन्न समुदायका बालिबालिका अध्यनरत रहेको बताउँदै उनले विद्यार्थीहरुलाई पढाउन पर्याप्त कक्षा कोठा नरहेको बताइन् ।

गत वर्षको सरस्वती पूजादेखि यो विद्यालय नियमित सञ्चालनमा आएको हो । कक्षा १ र २ का बालबालिकालाई एउटै कोठामा राखेर पठनपाठन गरिँदै आएको छ । कक्षाकोठा अभावमा बहुकक्षा विधिबाट पढाउनु पर्दा विद्यार्थीहरुको सिकाई कार्य प्रभावकारी हुन सकेको छैन । शिक्षक दरबन्दीसमेत नहुँदा चन्द्रपुर नगरपालिकाले २ जना शिक्षकहरुलाई डोर हाजिरीमा पढाउन खटाएको छ ।

चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले विद्यालयको समस्याका बारेमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । अब विद्यालय भवन बनाउनेतर्फ योजना अघि बढाउने उनले बताए । 

शैक्षिकस्तर वृद्धिका लागि पालिकाले सहयोग गर्दै आएको उल्लेख गर्दै नगर प्रमुख काफ्लेले शैक्षिक क्षेत्र सुधारका लागि आफ्नो विभिन्न योजना रहेको बताए । सरस्वती प्राथामिक विद्यालयमा १ सय ४० जना विद्यार्थी अध्यनरत छन् ।

कमेन्टहरु