धर्म–संस्कृति/रीतिथिति, मधेश प्रदेश
थारु समुदायमा माघी पर्वको रौनक सुरु


अशाेक यादब
रौतहट । थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको रुपमा लिइने माघीले थारु समुदाय तथा बस्ती उल्लासमय भएका छन् । पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारु समुदायले माघी पर्व मनाउने चन्द्रपुर- ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले बताए ।
‘माघीको अवसरमा नाचिने माघी, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाँच थारु गाउँमा सुरु भएका छन’, उनले भने, ‘गाउँगाउँमा नाचसँगै माघीको चहलपहल सुरु भएको छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणा उठाउने चलन पनि छ ।’ थारु समुदायमा माघीलाई विशेष महत्त्वका साथ हेरिन्छ । माघीदेखि नै समुदायमा नयाँ काम सुरु गर्नुका साथै नयाँ व्यवस्था लागु हुने भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिने बैजनाथका थारु अगुवा तथा चन्द्रपुर नगरपालिकाका पुर्व मेयर रामचन्द्र चौधरीले बताए ।
‘यो पर्वलाई समुदायमा आ-आफ्नै तरिकाले मनाउने गरिएको छ । तर नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया एक वर्षलाई एउटै हुने भएकाले यसको विशेष महत्त्व रहन्छ’, उनले भने ।
माघी थारू समुदायको चाड मात्रै नभएर यस अवसरमा नयाँ रितिथिति, नयाँ अगुवा (मतहवा, भल्मन्सा, मतहवा, बरघर) चुन्ने र नीति नियम निर्माण गर्ने पर्वका रुपमा रहेको चौधरीको भनाइ थियो ।
‘विशेष गरेर पुसको अन्तिम दिनदेखि माघीको रौनकता बढ्छ । अहिले थारु गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, पिसान कुटान, रङ्गरोगन, जाँड तथा ढिक्री पकाउने तथा खानाका अन्य परिकार बनाउने काम पुरा भएको छ’, उनले भने, ‘माघीको अवसरमा विभिन्न ठाउँमा मेला महोत्सवको समेत आयोजना हुन गर्दछन् ।’
थारु समुदायको मुख्य पर्व माघीको अवसरमा रौतहटको चन्द्रपुर ८ सन्तपुरमा आज र भोली बिभिन्न कार्यक्रमको आयोजना गरिएको सन्तपुरका स्थानीय बासिन्दा बिनोद चोधरीले बताए । रौतहट सहित मधेश प्रदेशका बिभिन्न जिल्लामा बसोबास गर्ने थारु समुदायले मेलाको आयोजना समेत गरेका छन् । माघीको अवसरमा सन्तपुरमा थारु खाना तथा थारु संस्कृती झल्कने बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
आज र भोली सन्तपुरको बेला लाग्ने स्थानमा बिभिन्न कार्यक्रमको आयोजना गरिने वडा अध्यक्ष चौधरीले जानकारी दिएकाछन्























