अपराध, मधेश प्रदेश

रौतहटका होटल तथा गेष्ट हाउसमा यौन विकृति बढ्दै, प्रहरी प्रशासन अनविज्ञ

जगत ठाडा मगर
२०८० पुस २८ | बिहान ०९:०९ बजे
फाइल फोटो

अशोक यादव
रौतहट, पुस २८ । रौतहटमा होटल तथा गेष्ट हाउसको आडमा यौन विकृति बढ्दै गईरहेको छ । रौतहटको होटलहरुमा महिला कामदार राख्ने तथा गेष्ट हाउसमा कोठा उपलब्ध गराएर यौन व्यवसाय सञ्चालन हुने गरेको जनगुनासो बढ्दै गईरहेको छ ।

प्रहरी प्रशासनसँग अवैध मिलिमतोमा यस्ता यौनजन्य क्रियाकलाप हुदै गईरहेको जानकारहरुको भनाई रहेको छ । होटल, गेष्टहाउस र डान्सबारको आडमा अवैध यौनजन्य गतिविधिलाई फस्टयाएको देखिन्छ । यहाँ अनुगमनकर्ता तथा प्रहरी प्रशासनहरुले दिनहुँ अनुगमन नगर्दा विकृतिजन्य क्रियाकलाप सञ्चालनमा सक्रिय रहेको पाइएको छ ।

त्यस्ता होटल तथा गेष्ट हाउसलाई कानुनअनुसारको कारबाहीका लागि सम्बन्धित निकायहरुले कुनै ठोस कार्य नगरेको भन्दै चन्द्रपुरका स्थानीय रामनरायण पोखरेलले जानकारी दिनु भयो । उहाँले होटल खोलेर यौन विकृति फैलाउन व्यवसायीसँगै होटलको लागि भाडामा दिने घरधनीलाई समेत कारबाही गर्नुपर्ने बताउनु भयो । अहिले गरुडा, गौर चन्द्रपुरस्थितका होटलहरुमा निर्वाध रुपमा अवैध यौनजन्य क्रियाकलाप भईरहदा पनि प्रहरी प्रशासन अनविज्ञ रहेको देखिन्छ ।

त्यति मात्र नभएर चन्द्रनिगाहपुरस्थित केही नाम चलेका होटलका अलावा अधिकांश रेस्टुरेन्ट तथा होटलमा यौन व्यवसाय निर्वाधरुपमा चलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले ध्यान दिन सकेको छैन । ईलाका प्रहरी कार्यालयकै छेउछाउमा रहेका होटलमा समेत यौन व्यवसाय निर्वाध चलेको र स्थानीय व्यापारी, नेताहरु लगायत आसपासका जिल्लाबाट समेत पुरुषहरु चन्द्रनिगाहपुरका होटलमा यौनकर्मी महिलाको ग्राहक बन्ने गरेको स्थानीयहरु बताईरहेको छन् ।

महिला सुरक्षा दबाब समूहकी अध्यक्ष तथा महिला नेतृ देवकी नेपालले चन्द्रनिगाहपुरका केही रेस्टुरेन्ट तथा होटलमा यौन व्यवसाय चरम सीमामा पुगिसकेको बताइन् । ती होटलमा हुँदै आएको देह व्यापार रोक्न प्रहरीलाई पटकपटक खबर गर्दासमेत प्रहरीले बेवास्ता गरेको उनको भनाइ छ ।

कमेन्टहरु