‘साहित्यिक पत्रकारितामा भाषिक एकता’ विषयक गोष्ठी सम्पन्न


काठमाडौं । नेपाल प्रेस काउन्सिलको आयोजना र नेपाल स्रष्टा समाजको संयोजनमा ‘साहित्यिक पत्रकारितामा भाषिक एकता’ विषयक गोष्ठी सम्पन्न भएको छ । समाजले साताव्यापी कार्यक्रम अन्तरगत गोष्ठी सम्पन्न गरेको हो ।
मंगलबार काउन्सिलको सभा हलमा सम्पन्न कार्यक्रममा साहित्यिक पत्रपत्रिका तथा अनलाइन पत्रिकाको साहित्यिक बिट हेर्ने पत्रकारहरूको उपस्थितिमा भाषाविद् शरत्चन्द्र वस्तीले विशेष मन्तव्य राखे ।
वस्तीले भाषा मानव जीवनको मूल भएको चर्चा गर्दै भाषाको नयाँ आयाम प्रकट गर्ने मुख्य आधार साहित्य भएको बताए । उनले रचना गर्दा प्रयोग हुने भाषा गलत र अशुद्ध भए त्यसले साहित्यलाई नै बिगार्ने बताए ।
मन्तव्यका क्रममा वस्तीले भने, “भाषा बिगार्नु अराजकता हो । भाषालाई भत्काउनुहुँदैन । जे छ, त्यही लेखिनुपर्छ ।”
उनले नेपाली भाषा कमजोर नभएको तर भाषामा अन्योल धेरै रहेको उल्लेख गर्दै शब्दमा अक्षरको खुट्टो काट्न देवनागरी लिपिले आज्ञा नदिएको बताए ।






















