शुभकामना वक्तव्यमा ‘कोशी प्रदेश’ नलेख्दा मुख्यमन्त्री कार्कीको आलोचना


विराटनगर, पुस १५ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ‘तमु ल्होसार’को शुभकामना दिन जारी गरेको वक्तव्यमा प्रदेशको नाम ‘कोशी’ उल्लेख नगरेको भन्दै आलोचना भएको छ ।
मुख्यमन्त्री कार्कीले आइतबार जारी गरेको शुभकामना वक्तव्यमा देब्रेपट्टि ‘मुख्यमन्त्री’ र दाहिने पट्टि ‘विराटनगर नेपाल’ उल्लेख गरेका छन् । हस्ताक्षर गरेको स्थानमा पनि ‘केदार कार्की, मुख्यमन्त्री’ लेखिएको छ । उक्त विषयलाई लिएर एमाले निकट नेता, कार्यकर्ताहरूले व्यापक आलोचना गरिरहेका छन् । उता, पहिचानवादीहरूले भने कार्कीको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवनारायण साहले भने प्राविधिक कमजोरीका कारण कोशी लेख्न छुटेको बताए । उनले गल्ती थाहा हुनासाथ सच्याएर नयाँ विज्ञप्ति जारी गरिएको पनि बताए । मुख्यमन्त्री कार्यालयले उक्त शुभकामना सन्देशको ठाउँमा कोशी नाम रहेको वक्तव्य रिप्लेस गरिसकेको साहले बताए ।

पछिल्लो पटक जारी गरिएको शुभकामना सन्देशको दाहिने पट्टि भने कोशी प्रदेश, विराटनगर नेपाल उल्लेख गरिएको छ ।























