धर्म–संस्कृति/रीतिथिति

आज तमु ल्होसार मनाइँदै

नवलपुर टुडे
२०८० पुस १५ | बिहान ०६:०९ बजे

काठमाडौँ, पुस १५ । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक वर्षको १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ । यस्तै ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिन्छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् ।

ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यस्तै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका प्रमुख नेताहरुले ल्होसार पर्वको शुभकामना व्यक्त गरेका छन् ।

कमेन्टहरु