समाचार

गौशालाबाट हराएकी साढे दुई वर्षकी बालिकाको तीन दिनपछि भक्तपुरबाट उद्धार

जगत ठाडा मगर
२०८० पुस १२ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं, पुस १२ । काठमाडौको गौशाला पशुपति मन्दिर क्षेत्रबाट मंगलबार साँझ हराएकी साढे दुइ वर्षकी बालिकालाई प्रहरीले भक्तपुरबाट उद्धार गरेको छ ।

सिन्धुपाल्चोक घर भई पशुपतिमा चिया व्यापार गर्दै आएकी ३४ वर्षीया लक्ष्मी सुनुवारकी छोरी आशिका सुनुवारलाई प्रहरीले तीन दिनपछि भक्तपुरबाट उद्धार गरेको हो । लक्ष्मीले चिया खान आएको व्यक्तिले जबर्जस्ती छोरीलाई लगेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् ।

उनले खबर गर्नसाथ जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी कार्य गरेको थियो । बिहीबार बिहान भक्तपुर बालकोट क्षेत्रबाट बालिकालाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए ।

एसपी रेग्मीका अनुसार बालिकालाई लिएर गएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको व्यक्तिमाथि सोधपुछ कार्य भइरहेको उनले बताए ।

कमेन्टहरु