टिकटक अब सरकारी कार्यालयले चलाउन पाउने


काठमाडौं, पुस ६ । सरकारी कार्यालयले आफूले गरेको काम र भविष्यमा गर्ने कामकारबाहीबारे सर्वसाधारणलाई जानकारी दिन सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने गरी सरकारले निर्देशिका ल्याएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धि निर्देशिका, २०८०’ पास गरेको हो । जसमा सरकारी कार्यालयले आफूले गरेको काम र भविष्यमा गर्ने कामकारबाहीबारे सर्वसाधारणलाई जानकारी दिन सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने उल्लेख छ ।
निर्देशिकामा सरकारी कार्यालयहरुले विभिन्न सामाजिक सञ्जालमा एकाउन्ट खोल्न सक्छन् भनेर लेखिएको छ । जसमा टिकटक पनि समावेश गरिएको छ । सरकार आफैंले टिकटकमाथि प्रतिबन्ध लगाएको छ । २७ कात्तिकको मन्त्रिपरिषद् बैठकले नै सामाजिक सद्भाव विगारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
तर ‘सरकारी कार्यालयले सामाजिक सजाल प्रयोग गर्नेसम्बन्धि निर्देशिका, २०८०’ मा सरकारी कार्यालयले एकाउन्ट खोल्नुपर्ने सामाजिक सञ्जालको सूचीमा टिकटकलाई पनि राखिएको छ ।























