ओझेलमा अर्जुन


भोजराज पाण्डेय, नेपाल बिबिध खालको भौगोलिक बनावटले बनेको छ । पुर्व मेची देखि पश्चिम महाकालीसम्म कहिं पनि एकै खालको भौगोलिक, सांस्कृतिक, सामाजिक र जातीय संरचना पाउन सकिदैन् । साबिक लुम्बिनी अञ्चलको ३ वटा पहाडी जिल्लाहरु मध्ये गुल्मी जिल्लामा पनि एकै खालको अबस्था रहेको पाइदैन् । यो जिल्ला भौगोलिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय र राजनैतिक हिसाबले सधै चर्चामा रहने गरेको छ । यहाँको भूबनोट पनि एक नासको छैन । यस जिल्लाको सदरमुकाम तम्घासको पुर्व र पश्चिममा रहेका गगनचुम्बी अग्ला पहाडहरुले गर्दा ती पहाडहरुको काखमा अबस्थित तमघास बजारको तुलना भारतको प्रमुख पर्यटकीय शहर दार्जिलिङ संग हुने गर्दछ ।
लुम्बिनी प्रदेशको बीच भागमा अबस्थित रुपन्देही जिल्लाको बुटवलबाट करिब १३८ किमी उत्तरतर्फ गुल्मी जिल्लाको सदरमुकाम तम्घास अबस्थित छ । आंशिक मात्रामा भए पनि मध्ये पहाडी राजमार्ग र अन्य सहायक मार्गहरु संचालनमा आए संगै पाल्पा हुँदै मात्र गुल्मी पुग्न सकिने जुन बाध्यता थियो त्यसको अहिले अन्त्य भएको छ । बाग्लुङ र अर्घाखाँची हुँदै पनि गुल्मी जिल्लाको सदरमुकाम तम्घास पुग्न सकिन्छ । तर पहिले देखि नै संचालन र चलन चल्तीमा रहेको बुटवल, पाल्पा, रिडी हुँदै तम्घासको सडक यात्रा नै धेरैले प्रयोग गर्ने गर्दछन् । हुनत यही बाटो हुँदै यात्रा गर्दा पाल्पा जिल्लामा रहेका बिबिध प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको रस्वसादन पनि लिन सकिने हुँदा गुल्मीबासीहरुको लागि यो सडक प्रमुख रोजाई हो भन्न पनि सकिन्छ ।
लुम्बिनि प्रदेशको प्रमुख ब्यापारिक शहर बुटवल बाट पाल्पा जिल्लाको पबित्र तीर्थस्थल सिद्धबावा मन्दिरको बाँया हुँदै तिनाउँ नदीको तिरैतिर दोभान क्रस गरी अगाडि आइपुग्दा नदीलाई छोडेर सडकले कठिन पहाडी भूगोल भएको केराबारी हुँदै तम्घासको लागि अगाडी बढ्न सकिन्छ । केराबारी अगाडी जोरधारा नजिक बाट धेरै तल हेर्दा अनकण्टार खोँचमा तिनाउ नदीको प्रारुप मात्र देख्न सकिन्छ । भैरहवा पोखरा सिद्धार्थ राजमार्ग सडकको बाटो हुँदै गाडीमा अगाडी बढ्दै गर्दा बीच बीचमा पहाडको खोचबाट बगेको कञ्चन झरनाको छवाङ छवाङ आवाजसँगै सिरसिर गर्दै आउने चिसो हावाको आनन्द त्यतिबेला स्मरणयोग्य हुन्छ जतिबेला तराईको उखरमाउलो गर्मीमा पसीनाले निर्थुक्क भिजेको अनुभूति हुन्छ ।
पाल्पा जिल्ला इतिहाको कालखण्ड देखि नै कुनै न कुनै हिसाबले चर्चित जिल्ला मानिन्छ । यहाँ रहेका मनोरम प्राकृतिक सौन्दर्यहरुको असिम आनन्द लिदैं तानसेन बजार पार गरी बतासेडाँडा मुनिको बाक्लो र घना सालघारीको माझबाट उकालो हुँदै यात्रा गर्दा आउने खुशी र आनन्दले जो कोही पनि प्रभावित नहुने कुरै आउँदैन । इतिहासको कालखण्डमा नेपाल राज्य निर्माण हुनु भन्दा अगाडि त्यतिबेला अस्तित्वमा रहेका बिभिन्न बाइसे चौबिसे र भुरे टाकुरे राज्यहरु मध्ये पाल्पा राज्य अत्यन्त क्तिशाली मानिन्थ्यो । यो राज्य शक्तिशाली हुनुमा यहाँको भौगोतिक बनावट पनि प्रमुख आधार रहेको हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।
स्याङजा, गुल्मी र पाल्पा जिल्लाको संगम स्थलको रुपमा रहेको प्रसिद्ध तीर्थस्थल रहेको रिडी क्षेत्रको पश्चिमी साँध सीमाना भएर बग्ने रिडी खोलामाथि एक पटकमा एउटा गाडी मात्र अट्ने गरी बनाइएको साँघुरो पुललाई पार गर्नासाथ गुल्मी जिल्लामा पाइला टेक्न सकिन्छ । रिडी बजारबाट उकालो यात्रा सुरु गरी करिब ४५ किमी साँघुरो र घुमाउरो सडकको यात्रा पार गरेपछि अर्जुन लेक र तपोभूमी रेसुङगा लेकको काखमा अबस्थित रमणीय तम्घास बजार पुग्दा जो कोहीलाई पनि भारतको प्रसिद्ध पर्यटकीय स्थल दार्जिलिङ पुगेको अनुभुति हुन्छ । पूर्वमा रेसुङगा र पश्चिममा अर्जुन लेकको काखमा अबस्थित रमणीय तमघास बजार देखेर मन नलोभ्याउने सायदै कोही होला ।
गुल्मी जिल्लालाई नेपाली मानचित्रमा परिचित गराउने बिभिन्न भौगोलिक र धार्मिक तथा सांस्कृतिक सम्पदाहरु रहेका छन, रिडी क्षेत्र, सत्यवती लेक, धुर्कोट गुफा, गुल्मी चारपाला दरवार, रेसुङगा, अर्जुन, आँपचौर कफी खेती आदि हुन भने प्रत्येक बर्षको दशैंमा देवीका मन्दिरहरुमा खेलिने सरायँ नाच गुल्मीको अलावा अर्घाखाँचीमा मात्र खेलिन्छ । तर जति रेसुङगाको बारेमा गुल्मेली माझ र नेपाली मानचित्रमा चर्चा हुन्छ त्यति चर्चा संगै पारी पाट्टी करिब करिब समान उचाई लिएर उभिएको अर्जुनको हुने गर्दैन ।
जिल्ला सदरमुकाम तम्घासलाई पश्चिम तर्फबाट छपक्कै काखमा छोपेर रहेको अर्जुनको महिमाले गुल्मी जिल्लाको सानलाई अझ ममतामयी र ज्वाजल्यमान बनाउनु पर्ने हो तर यसो हुन सकेको छैन् । छिमेकी जिल्ला अर्घाखाँचीको पुर्वी प्रस्थान बिन्दुको रुपमा रहेको अर्जुन लेकको बारेमा गुल्मेली दाजुभाई तथा दिदी बहिनीहरु पनि यद्यपी साक्षात्कार हुन नसकेको अबस्था छ । बिकासको कुरा गर्दा पनि जिल्लाको कुनै पनि तहबाट तम्घासकै पश्चिमी शीरमा अबस्थित अर्जुनलाई प्राथमिकतामा राखेको देखिदैन् । धार्मिक, ऐतिहासिक, जैबिक र पर्यटकीय महत्वले भरिपूर्ण
अर्जुनको महत्व र यसको प्राचीन इतिहास खोज्ने हो भने यो एउटा स्वर्णरुपी किताब बन्न सक्छ ।
जिल्ला सदरमुकाम तमघास बाट पश्चिम फर्किएर हेर्दा चारैतिर घना जङगलले भरिएको पुर्वी रेसुङगाको हाराहारी उचाईको सलक्क लतमन्न परेर हरियो च्यादर ओढेर सुतेकी शुन्दर महिला जस्तै गरी अर्जुन लेक देख्न सकिन्छ । हुनत केहि बर्ष अगाडिसम्म अर्जुन लेकमा प्रशस्त हरियाली र ठूला बनस्पती तथा बोट बिरुवाहरु देख्न पाइदैनथ्यो । यसले चर्चेको ईलाकामा ऐशेलु, चुत्रो र स-साना काँढेदार बोटबिरुवा तथा सीमित मात्रामा बनस्पतीहरु पाइन्थ्यो । जङगलको एक भागबाट अर्को भागमा निस्कनको लागि यदि बिना बाटो प्रयास गर्ने हो भने काँढेदार बुट्यान र बनस्पतीको कारण शरीररमा लगाएको लुगा च्याँतिएर कुन लुगा लगाएको हो भन्ने भेउ पाउन मुश्कील हुन्थ्यो । तर नेपालमा सामुदायिक बनको बिकाश भए सँगै काँढेदारबयुक्त बुट्यान र बनस्पतीले भरिएको लेक अहिले घना जङगलमा परिणत भएको छ । यहाँ सल्लो र उत्तीस, कटुंश, लालीगुँरास लगायतका बनस्पति तथा बिबिध खालका अन्य जडिबुटि युक्त बोटबिरुवाहरुले गर्दा बन हरियाली मात्र भएको छैन, मनमोहक र आकर्षक समेत भएको छ । बन जङगलमा आश्रित जनावरहरुको लागि अहिले गतिलो बासस्थान समेत भएको छ ।
तम्घासस्थित रहेको अर्घाखाची जाने बसपार्कबाट अर्जुनको यात्रा प्रारम्भ गर्दा करिब सवा घण्टाको पैदल यात्रामा सहजै अर्जुन लेकको चुचुरोमा पुग्न सकिन्छ । यसो भन्दै गर्दा त्यहाँसम्म पुग्नको लागि सडकको सुबिधा नभएको भन्ने चाहिं होइन । तम्घासबाट देउराली हुंदै र अर्घाखाँची जीप पार्क समेतबाट गाडी तथा मोटरसाइकलबाट समेत अर्जुन लेकको लागि यात्रा गर्न सकिन्छ । गाडी तथा मोटरसाइकलबाट यात्रा गर्दा पनि अर्जुन लेकसम्म पुग्न सकिन्छ । तर अर्जुन लेकको लागि पैदल यात्रा सुरु गर्दा भुजेलखर्कको बीचमा रहेको प्रसिद्ध भगवती मन्दिरको दर्शन गर्न भने छुटाउनु हुंदैन । हुनत भगवती मन्दिरमा पूजाआजाको लागि अन्य मन्दिरमा जस्तो दैनिक श्रद्धालु भक्तजनहरुको घुंँइचो भने हुंदैन् ।
अर्जुन डांँडामा रहेको भगवती मन्दीर र भुजेलखर्कमा रहेको भगवती मन्दिर केहि अघि मात्र नव निर्मित मन्दिरको रुपमा रहेका छन् । भुजेलखर्कको भगवती मन्दिरको दर्शन गरी उकालो लाग्दै गर्दा अलि पर माइकास्थानमा रहेको प्रसिद्ध शिवालयको दर्शन गर्दा आउने आनन्दको सीमा रहन्न । त्यहाँ रहँदै गर्दा मन्दिर दर्शनको अलावा उत्तरमा नजिकै देखिने शीरमा सेतै हिँउको ढिक्का बोकेर गजधम्म परेर अटल भई बसेका धवलागिरी लगायतका हिम श्रृंखलाहरुको मनमोहक दृश्यहरुले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ ।
माइकोस्थानबाट देखिने मनमोहक दृश्यहरुको रस्वसादन लिई सकेपछि उकालो समात्दा करिब ४५ मिनेटमा दुरिखोला, चौपारी (हाल सो स्थानमा टावर निर्माण भए पश्चात सेल्फी टावरको नामले परिचित) राजाको पंधेरो (बाइसे चौबिसे राजाहरुको शासनकालमा भुरे टाकुरे राजाहरु मध्ये अर्जुन किल्लामा रहेका राजाले पानी पिउन प्रयोग गर्ने पंधेरो) हुँदै गाडी गुड्ने मोटर बाटो समातेर प्रसिद्ध भगवती मन्दिर रहेको समथर वरिपरि पर्खालले घेरिएर बनेको अर्जुन लेकमा पुग्न सकिन्छ ।
प्राचीन कालदेखि नै अर्जुन लेकमा स्थापित अर्जुन भगवती मन्दिर, छत्रस्थान, नागस्थान, सिद्धस्थान र शिवस्थानमा पूजाआजा चलिआएको परम्परा छ । उक्त मन्दिरमा स्वच्छ हृदयले मागिएका बरदानहरु पुरा हुन्छन भन्ने बिश्वास समेत रहि आएको छ । यहाँ प्रत्येक बर्षको बडा दशैंको अवसरमा घटस्थापनाको दिनदेखि नवदुर्गा देवीको पूजा गर्न श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।
सप्तमीको दिनमा मन्दिरमा बिधिपुर्वक फूलपाती भित्र्याउने, अष्टमीको दिन कालारात्री पूजा गरी बिभिन्न प्रकारका बस्त्र पहिराई देवीको रुपमा बाहिर मण्डपमा देवी निकाली राखिन्छ । नवमीको दिन टाढाटाढाबाट श्रद्धालु भक्तजनहरुले ल्याएका तथा मनोकाक्षां पुरा होस भनी भाकल गरेका राँगा, बोका र कुखुराको बली चढाइन्छ भने दशमीको दिनमा देवीलाई टीका चढाई आफूले पनि टिका ग्रहण गरे पश्चात बेलुका तम्घास, भुजेलखर्क, कुंडापानी, बेतुखर्क, सोता र अन्य स्थानका भक्तजनहरु समेत ठूलो संख्यामा भेला जम्मा भई बाहिर मण्डपमा निकालिएका देवी देउतालाई मन्दिरमा भित्र्याई गुल्मी जिल्लामा प्रख्यात सरायँ नाच खेली बिसर्जन गर्ने चलन छ ।
अर्जुन लेकमा बि.सं. १८५० भन्दा अगाडी बाइसे चौबिसे राजाहरु अन्तरगत भुरे टाकुरे राजाहरुको शासनकालमा राजाले शासन गरेका केही भग्नावशेषहरु यधयी देख्न सकिन्छ । महाभारत कालखण्डमा पाँच पाण्डव मध्येका एक भाई अर्जुन घुम्दै फिर्दै सो स्थानमा आई पुगेको र सोही स्थानबाटै गीताको तत्व ज्ञान प्राप्त गरेको हुँदा उहांँकै नामबाट उक्त लेकको नाम अर्जुन रहेको भन्ने बिश्वास रहिआएको छ । यसै लेकको भिरपाखामा अं १०० मीटर लामो अनौठो किसिमको गुफाको साथै छुट्टै ठूलो रुपमा भएको ओढार, राजाले पानी पिउने पँधेरो, बाजा जस्तै बजाउन सकिने फलामे शैलीको दमाहा आकारको ढुङगा, त्यहाँ भएका राजालाई दुश्मनले आक्रमण गर्न नसकुन भनेर वरिपरि बनाइएको ढुङगाको पर्खाल भग्नावशेषको रुपमा रहेको छ ।
सो किल्लाको उत्तर पश्चिम भागबाट लेकमा प्रवेश गर्ने नाकामा ढुङगाकै कपेरोमा कोपेर बनाइएको तगारो लगायतका संरचनाहरु यद्यपी देख्न सकिन्छ, जुन उचित संरक्षण र प्रचारप्रसारको पर्खाईमा छन् ।
लेकको पश्चिम पट्टि आडैमा टोपीफाले भन्ने स्थान रहेको छ । जहाँ जतिबेला पनि हावा तिब्र गतिमा चलिरहन्छ । जुन स्थानबाट जति जोडले टोपी, पछ्यौरा तथा अन्य साना तिना कपडाहरु तल फाले पनि हावाले ती कपडाहरु जहाँबाट फालेको थियो सोही ठाउँमा फर्काइदिन्छ । यसलाई अनौठो नै मान्नु पर्ने हुन्छ । जैबिक बिबिधताले भरिपूर्ण यस लेक र लेकले चर्चेको इलाकामा हाल करिब १०० भन्दा बढी प्रजातीका चाँप, ओखर, लालीगुँरास, कुरिलो, तेजपत्ता, चिराइतो लगायतका बनस्पतीहरु पाइन्छन् । बाघ भालु, मृग, स्याल, बाँदर, ढेढुवा र दुम्सी आदि जनावरहरु पनि यस क्षेत्रमा पाइन्छन् । यसको तल्लो भागमा गाउँ र गाउँ माथि दक्षिण पश्चिममा करिब १६५ हेक्टर भीर पाँखा, बुट्यान जुङगल र पुर्व उत्तरमा करिब १०० हेक्टर समथर जङगल पाइन्छ ।
तम्घासको पुर्वी शीरमा रहेको तपोभुमी रेसुङगाको ब्यापक रुपमा प्रचारप्रसार भएको छ, पर्यटकहरु आकर्षित गर्नको लागि बिभिन्न खालका संरचनाहरु निर्माण भएका छन । तर ठ्याक्कै पश्चिमी शीरमा रहेको अर्जुनको उचित संरक्षण र सोही अनुरुप प्रचारप्रसार हुन सकेको छैन् । यसको चुचुरोबाट बिहान उदाउन लागेको लाल वर्णको सूर्य, अन्नपूर्ण, माछापुछ्रे, धवलागिरी, जस्ता हिमश्रृखंलाहरु, गुल्मी, अर्घाखाँची, प्यूठान, बाग्लुङ, पर्वत, स्याङजा र पाल्पा जिल्लाका बिभिन्न स्थानहरुको अवलोकन गर्न सकिन्छ । जिल्लाको सदरमुकामको पश्चिमी शीरमा रहेको यस्तो रमणीय र मनमोहक लेक जहाँ परापुर्व कालदेखि देवीको शक्ति भएको, चारैतर्फ गाउँ बस्ती भएको शुन्दर स्थल अर्जुन लेकलाई एउटा प्रमुख पर्यटकीय स्थलको रुपमा बिकास गर्नु अपरिहार्य रहेको छ ।
यस क्षेत्रलाई पर्यटकीय स्थलको अलावा पिकनिक स्थलको रुपमा पनि बिकाश गर्न सकिन्छ । जसले गर्दा स-शुल्क पिकनिक स्थलको रुपमा ब्यबस्थित गर्न सकेमा सम्बन्धित निकायको आय आम्दानीमा समेत टेवा पुग्न गई रोजगारीको अबसर समेत श्रृजना गर्न सकिन्छ । तर यहाँको प्रमुख समस्या भनेको नै पानी नहुनु हो । अर्जुन लेक तथा यसको आसपासको क्षेत्र घना जङगलले घेरिएको हुँदाहुँदै पनि यहाँ यथेष्ठ पानीको श्रोत भने छैन् । तसर्थ पानीको उपलब्धता हुन सकेको खण्डमा यस क्षेत्रलाई पर्यटकीय स्थलको अलावा पिकनिकको स्थलको रुपमा पनि बिकाश गर्न सकिन्छ ।
जैबिक बिबिधताले भरिपूर्ण पुरातात्विक, ऐतिहासिक तथा धार्मिक देवस्थल समेत भएको र प्रशस्त पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको संरक्षणमा सरोकारवालाहरु लागेको खण्डमा अर्जुन लेकलाई ओझेलमा पर्न बाट बचाउन सकिन्छ ।
(तम्घास कुडापानी निवासी माधब पन्थीको सहयोगमा)
लेखकः जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेय गुल्मी तम्घास निवासी हुन् ।























