शिक्षा

त्रिविको ४९ औं दीक्षान्त समारोह आज, गिनिज बुकका प्रतिनिधिहरूसमेत उपस्थित हुने

जगत ठाडा मगर
२०८० पुस २ | बिहान १०:०९ बजे

काठमाडौं, पुस २ । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह आज (सोमबार) हुँदैछ । त्रिविले यसपटक दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्ने भएको छ ।

७३ हजार सात सय ४९ जना विद्यार्थीमध्ये यसपालि दीक्षित हुनका लागि १२ हजार चार सय १५ जनाले फारम भरेको त्रिवि जनसम्पर्क महाशाखाका कृष्ण बस्ताकोटीले जानकारी दिए । एकैपटक धेरै विद्यार्थी दीक्षित हुने भएकाले त्रिविले यसपटक गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा पनि आवेदन दिएको छ । त्यसका लागि गिनिज बुकका प्रतिनिधिहरू काठमाडौं आएका छन् ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल पनि सरिक हुनेछन् । समारोहमा सहभागी हुने सभासद्, प्राध्यापक/कर्मचारी, अतिथि, अभिभावक र दीक्षित हुने विद्यार्थीहरूको सवारीसाधन व्यवस्थापनका लागि छुट्टाछुट्टै ठाउँ तय गरेको छ ।

पूर्व र उत्तर रूटबाट आउने सम्पूर्ण सवारी साधनलाई टुँडिखेलमा पार्किङ गर्न भनिएको छ । त्रिपुरेश्वर कालीमाटी रूटबाट आउने सवारी साधनहरूलाई विश्व निकेतन स्कुलमा पार्किङको व्यवस्था गरिएको छ ।

पुल्चोकबाट आउने सवारीसाधनहरूलाई वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा पार्किङको व्यवस्था मिलाइएको छ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारी एवं कर्मचारीहरूका लागि राष्ट्रिय खेलकुद परिषद्को कार्यालय परिसरभित्र पार्किङको व्यवस्था गरिएको छ ।

कमेन्टहरु