प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना: एक जनाको मृत्यु

नवलपुर टुडे
२०८० मंसिर २८ | मध्यान्ह ०२:०८ बजे

प्यूठान । प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
प्यूठानको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पुरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।
आज बिहान ११ः२० बजे लु ३ च ६८७४ नं को स्कार्पियोको अगाडीको टायर पङ्चर भई ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए।
दुर्घटनामा परि गाडीको अगाडी बाटोमा हिँडेका मल्लरानी गाउँपालिका–३ का वडा सदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख इश्वर थापाले बताए।
उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।























