गुल्मी युनाइटेड सहकारीको छैठौँ सञ्चालक समितिका लागि चुनावी सरगर्मी


गुल्मी, मंसिर २७ । गुल्मीको तम्घास यतिबेला चुनावमय भएको छ । चुनावमय हुनुको कारण चाहिँ कुनै दलको आवधिक वा मध्यावधी चुनाव नभईकन तमघासको सबैभन्दा बलियो सहकारी गुल्मी युनाइटेड सहकारीको १६औं बार्षिक साधारण सभा तथा छैठौँ सञ्चालक समितिको निर्वाचनलाई लिएर सरगर्मी बढेको हो ।
जम्मा ११२१ शेयर सदस्य रहेको सहकारी तम्घासको सबै भन्दा बलियो र भरपर्दो सहकारीको रुपमा परिचित छ । यसै संस्थाको नेतृत्व लिनको लागि यस पटक अध्यक्ष पदमा वाणिज्य बैंक तम्घास शाखाका पूर्व प्रमुख तथा अनुभवी एवं सहकारीका जानकार ब्यक्तित्व हरि प्रसाद पाण्डेय र गत निर्वाचनमा रेसुङ्गा नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका पराजित उम्मेदवार तथा व्यापारी राम प्रसाद पन्थि मैदानमा छन् ।
प्यानल नै बनी नसकेको भएता पनि दुबै तर्फका अध्यक्षका प्रत्यासीहरु र समग्र टिम नै प्रजातान्त्रिक धार समर्थक रहेका छन् । तर शेयर सदस्यहरु माझ सहकारी जानकार चयन गर्ने कि ब्यापारी चयन गर्ने भन्ने उपयुक्त अवसर हुने छ । तर, लामो समय तम्घासको राष्ट्रिय वाणिज्य बैंकमा म्यानेजरको रुपमा कार्यरत रहि अवकाश प्राप्त र युवा तथा समस्त तम्घासबासीका परिचित ब्यक्तित्व हरि प्रसाद पाण्डेयको पक्षमा जर्बजस्त माहोल बन्दै गइरहेको छ ।
उनको नेतृत्वमा बन्ने टिम नै अत्यधिक मतका साथ बिजयी हुने सम्भावना रहेको बसपार्क निवासी एक जना नाम उल्लेख गर्न नचाहने व्यवसायी तथा शेयर सदस्यले बताए ।
वि.सं २०६४ सालमा स्थापना भई संचालनरत उक्त सहकारीको शेयर पुजी ८१,७९०,६००/- रहेको छ भने जगेडा कोषको रुपमा २६८८७२०६.९० रुपैया रहेको छ । साथै २८६३१०८७४ रुपैया बचत निक्षेप रहेको छ । उक्त सचालक समितीको निर्वाचन आगामी मंसिर ३० गते महेन्द्र मा.वि तम्घासमा हुने जनाईएको छ ।























