देश, राजनीति

प्रधानमन्त्रीको दावी : कसैलाई गलत गर्न दिन्न, देश बनाउन दिन–रात खटिरहेको छु

जगत ठाडा मगर
२०८० मंसिर २७ | मध्यान्ह ०७:०८ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि आफू दिनरात खटिरहेको बताएका छन् ।

आज (बुधबार) काभ्रेपलाञ्चाकको पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिका लागि हुने भन्दै त्यही संकल्पका साथ अहिले पनि दिनरात खटिरहेको बताएका हुन् । उनले आफूले कसैलाई गलत गर्न नदिने गरी काम गरिरहेको पनि दावी गरेका छन् ।

प्रधानमन्त्रीले अघिल्लो वर्ष सरकारले समयमै अनुदानको मल उपलब्ध गराएको र आगामी वर्षका लागि पनि अहिलेदेखि नै लाग्न निर्देशन दिएको बताए । आउँदो वर्षको नीति र कार्यक्रमबारे संसदमा र जनस्तरसम्मै बृहत रूपमा छलफल गरेर केही नयाँ कार्यक्रम ल्याउने सरकारको तयारी रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले पाँचखालमा स्थापना गरिएको महिला उद्यमी हरित पार्कले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई कृषिमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्ने योजना अघि सारेको बताए । यस परियोजनाले हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने, व्यावसायिक उत्पादनहरूमा नवीन विचार, प्रविधि र सीपको विकास गर्न मद्दत गर्ने उनको विश्वास छ ।

उनले प्रधानमन्त्रीको हैसियतले पहिलो पटक हाइड्रोजन गाडी चढ्ने र यसले हरित क्रान्तिका लागि सन्देश दिने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले काठमाडौं विश्वविद्यालयमा हाइड्रोजन गाडीको प्रयोगमा बारेमा जानकारी लिएको जिकिर गरे । उनले नेपालमा हरित क्रान्तिको युग शुभारम्भ गर्ने क्रममा औद्योगिक ग्राम स्थापना निकै सकारात्मक भएको बताए ।

कमेन्टहरु