बागमती प्रदेश

ध्रुबे हात्तीको दाह्रा काटेर रेडियो कलर जडान गरियो

नवलपुर टुडे
२०८० मंसिर २५ | मध्यान्ह ०६:०८ बजे

चितवन, मंसिर २५ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय वरपरका बस्तीमा पसेर आतंक मच्चाउँदै आएको जंगली मत्ता (भाले हात्ती) ‘ध्रुबे’को दाह्रा काटेर शरीरमा रेडियो कलर जडान गरिएको छ ।

सोमबार दिउँसो सवा तीन बजेतिर चितवन राष्ट्रिय निकुञ्जको सुखिभार पोष्ट नजिकै ध्रुबेलाई बेहोस बनाउने ओषधि लोड गरिएको बन्दुकले प्रहार गरी बेहोस बनाएको थियो । बेहोस भएपछि हात्तीको घाँटीमा रेडियो कलर जोडिएको निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । दाह्रा बढेको पाइएपछि दाह्रा पनि काटि दिएको उनले बताए ।

ध्रुबेले दसैंअघिबाट माडी र जगतपुर क्षेत्रमा बस्ती पसेर आतंक मच्चाइ राखेको थियो । रेडियो कलर जोडेपछि अब ध्रुबे कुन क्षेत्रमा छ भन्नेकुरा थाहा पाउन सकिन्छ । बस्तीतिर पस्न लागेको अवस्थामा तत्काल नियन्त्रण गर्न सकिन्छ । 

ध्रुबेलाई निकुञ्ज प्रशासन, नेपाली सेनाको खड्गदल गण, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता सूचना केन्द्र, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हात्तीसारको टोली लगायतको प्रयासमा नियन्त्रणमा लिइएको हो ।

चितवन निकुञ्जमा ध्रुबेका अलावा रोनाल्डो र गोबिन्दे नामका जंगली भाले हात्ती सक्रिय छन् । यहाँ करिब ५० वटा जंगली हात्ती रहेको अनुमान छ । यहाँ केही दिनअघि दाह्रा नभएको जंगली भाले हात्ती ‘मकुना’ पनि भेटिएको थियो ।

कमेन्टहरु